सङ्खुवासभाको पाँचखपन नगरपालिका वडा नम्बर ६ वाना भाङ्टारमा श्री सिद्धदेवी पाथिभरा माताको प्राणप्रतिष्ठा सम्पन्न भएको छ । फागुन २१ बाट सुरु भएको प्राणप्रतिष्ठा आज (विहिवार) समापन गरिएको हो ।
पण्डित खेमनाथ दाहाल नेतृत्वको पण्डितहरुबाट विधिवत रुपमा देवीको प्राणप्रतिष्ठा गरिएको हो । पहिलो दिन सिद्धदेवी पाथिभरा माता र सिद्धेश्वर महादेवको साथै अन्य देवी देवताहरुको प्राणप्रतिष्ठाको लागि कलश यात्रा गरि सोहि दिन जलवास गराईएको थियो । त्यसपछि अनादी वास, फलादी वास, घिर्तादी वास गर्दै विहिवार विधिवत रुपमा प्राणप्रतिष्ठा समापन गरिएको हो ।
श्री सिद्धदेवी पाथिभरा संरक्षण संस्थाले आयोजना गरेको कार्यक्रममा पाँचखपन नगरपालिका र नगर वाहिरका भक्तजनहरुको उपस्थिति रहेको थियो । श्री सिद्धदेवी पाथिभरा माताको मन्दिर हालै सम्पन्न भएसँगै प्राणप्रतिष्ठा कार्यक्रमको आयोजना गरिएको संस्थाका देवराज पुरीले जानकारी दिए ।
देवीको प्राणप्रतिष्ठापछि पुजारीबाट दैनिक पुजापाठ गरिने समेत पुरीले जानकारी दिए । पुरीले यहाँ मन्दिर स्थापना भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुने बताए । यसले पाँचखपन मात्रै नभई संखुवासभा जिल्लालाई नै आर्थिक लाभ हुने तर्क गरे ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP