सुनसरी :युवा व्यवसायी रन्जु सिग्देल चौलागाईँ इटहरीमा व्यवसाय तथा समाजसेवाको क्षेत्रमा चिनिएको नाम हो । युवा अवस्थामै उनले व्यापार र सामाजिक काममा देखाएको सक्रियताकै कारण उनी यतिखेर माघ २८ गते हुने उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनको लागि अध्यक्ष उम्मेदवार बनेकी छिन् ।
श्रीमानले थालेको व्यवसायलाई सहयोग गर्दा गर्दै आज कुशल व्यवसायी बनेकी सिग्देलले सामाजिक दायित्व र अभियानहरूलाई पनि सँगसँगै लगेकी छिन् । व्यवसायी बनेर आफू मात्र कमाउने वा आफ्नै लागि मात्र सोच्ने भन्दा पनि समाजको विकासको लागि के योगदान गर्न सकिन्छ भन्ने सोचका कारण उनी विभिन्न सङ्घसंस्थाको नेतृत्व सम्हाल्दै यतिखेर व्यवशायीहरुको सङ्घको नेतृत्व लिन अघि सरेकी छिन् ।
इटहरीस्थित सिग्मा सप्लायर्सकी सञ्चालिका सिग्देल परिवारले सानो लगानीमा इटहरीमा व्यवसाय सुरु गरेका थिए । सिग्देल निम्न मध्यम वर्गीय परिवारबाट प्रतिनिधित्व गर्छिन् । इटहरीमा व्यवसाय गर्ने धेरैजसो व्यवसायीहरू निम्न मध्यम वर्गीय नै छन् ।
‘त्यसैले सानादेखि ठुला सबै व्यवशायीहरुको पीडा बुझ्छु,’ उनी भन्छिन्, ‘हाम्रो परिवारले आफैले व्यवसाय स्थापित गरेको हुँदा साना र सङ्घर्षशील युवा, महिला व्यवशायीहरुको समस्या मैले पनि भोगेकी छु ।’
शिक्षा शास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेकी उनले पढाइ सके लगत्तै क्याम्पस समेत पढाइन् । व्यवसाय थालेपछि भने उनले अध्यापनलाई निरन्तरता दिन पाइनन् । तर उनले आफ्नो ज्ञान, सीप विभिन्न तालिमहरुमार्फत् भने बाँड्ने गरेकी छिन् । बौद्धिक र भिजनरी नेतृत्व सीप उनमा छ । जसले उनको व्यवशायिक र सामाजिक सक्रियतालाई ठुलो सहयोग गरेको छ । उनको श्रीमान् लगायत परिवार नै व्यवसायमा छन्, एकपछि अर्को व्यवसाय थप्दै र शाखा विस्तार गर्दै लगेका छन् ।
त्योसँगै उनी सामाजिक कामहरूमा पनि सक्रिय छिन् । सामूहिकताको भावना राख्छिन् । समूहमा काम गर्ने कुशलता उनमा छ । उनले आजसम्म जति सङ्घसंस्था वा सङ्गठनमा जुनसुकै जिम्मेवारी पाए पनि कुशलतापूर्वक निर्वाह गरेको इतिहास छ ।
निर्वाह गर्न नसकिने जिम्मेवारी लिनु नै हुँदैन, जिम्मेवारी लिइसकेपछि इमानदार भएर निर्वाह गर्नुपर्छ भन्ने उनको सोच छ । ‘त्यसैले मैले हिजोका दिनमा जहाँ जस्तो जिम्मेवारी पाए पनि समय, श्रम दिएर पुरा गरेकी छु,’ उनी भन्छिन्, ‘सङ्घको अध्यक्ष भएँ भने म दुई वर्षको पुरै समय सङ्घको व्यवस्थित विकासलाई दिनेछु,’ उनी थप्छिन्, ‘भोलि मैले सङ्घको नेतृत्व अर्को समितिलाई सुम्पँदै गर्दा इटहरीको व्यवशायिक विकासको आधार बनिसकेको हुनेछ ।’
उद्योग वाणिज्य सङ्घको सदस्य हुँदा गरेका काम
२०७३ सालमा भएको उद्योग वाणिज्य सङ्घको निर्वाचनमा महिलातर्फ सदस्यमा निर्वाचित भइन् । उद्योग वाणिज्य सङ्घको महिला सदस्य भूमिकाका हिसाबले निकै सानो ठाउँ हो । तर उनले आफ्नो मेहनत र सीपलाई सक्दो उपयोग गरिन् र तीन वर्षको अवधिमा आफूले पाएको जिम्मेवारीभन्दा धेरै काम गरिन् ।
उनले महिला उद्यम समिति गठन गरेर महिला व्यवसायीहरूलाई समेटिन् र उनीहरूकै नेतृत्वमा महिला उद्यमी मेला लगाएर १४ वटा जिल्लाका महिलाहरूको प्रतिनिधित्व गराइन् ।
देशभरका विभिन्न कार्यक्रम, सभा, सम्मेलनमा इटहरीको प्रतिनिधित्व गराइन् । उद्यमीहरूका लागि विभिन्न किसिमका तालिमहरू आयोजना गरिन् । उनकै नेतृत्वमा इटहरीमा रोजगार मेला भयो । २०७४ सालमा बाढी गएको बेलामा विशेष गरी बाडी पीडित सुत्केरी महिला र बालबालिकालाई उनले सहयोग अभियान नै चलाइन् । जसमा इटहरीका व्यवसायीहरूले सक्दो सहयोग गरेका थिए ।
अर्को चुनावमा पराजयपछि पनि थाकिनन्
त्यसपछिको अर्को एक कार्यकालका लागि भएको सङ्घको चुनाव भने उनले गणितीय रूपमा हारिन् । तर उनी आफ्नो जिम्मेवारीबाट पछि हटिनन् । पदमा भए पनि नभए पनि उनी व्यवशायीहरुसँगै रहिन् ।
लायन्स जस्ता विभिन्न सङ्घसंस्थाहरूमा रहेर एकपछि अर्को सामाजिक कामहरू गर्दै रहिन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरीको महासचिव र नेपाल उद्यमशील महिला सुनसरीको महासचिवका रूपमा उनले जिल्लाभरिका साना उद्यमी उत्पादन गर्ने, तालिम दिने र उत्पादनको बजारीकरणका लागि सहयोग गर्ने काम गरिरहेकी छिन् ।
उनले यसबिचमा घरेलु उत्पादनको प्रदर्शनी मेलासमेत लगाइन् भने अन्य विभिन्न सामाजिक सरोकारका विषयमा समेत व्यवशायीहरुको पक्षमा निरन्तर क्रियाशील छिन् ।
अध्यक्षको दौडमा रन्जु
रञ्जु अहिले युवा व्यवशायीहरुको प्यानल बनाएर चुनावी मैदानमा छिन् । उनको प्यानलमा केही पुराना र धेरै नयाँ उम्मेदवारहरू छन्, जो आफ्नो क्षेत्रमा खारिएर सङ्घको नेतृत्व लिनको लागि अघि सरेका छन् ।
आफूले पाएको जिम्मेवारीलाई अनुशासित रूपमा निर्वाह गर्ने खुबी रञ्जुमा छ । सदस्य हुँदा नै पनि धेरै रचनात्मक काम गरेकी रन्जु अबको उद्योग वाणिज्य सङ्घको निर्वाचनमा अध्यक्षकी उम्मेदवार छिन् । अध्यक्ष भएपछि अहिलेसम्मको सबै संस्थागत सीप, अहिलेसम्मको सबै ऊर्जा अनि अनुभवलाई इटहरीको व्यवशायीक क्षेत्रको संस्थागत विकासका लागि उनी खन्याउन चाहन्छिन् ।
अग्रज व्यवसायीहरूले इटहरीमा उद्योगधन्दा र व्यवसायको विकासमा धेरै योगदान दिएको सम्झँदै उनी भन्छिन्, ‘वहाँहरू सबैलाई सम्मान गर्दै, सबैसँग सल्लाह लिएर
अनि सबै व्यवशायीहरुको भावनालाई समेटेर म दुई वर्षमा गर्ने कामहरूको सुची बनाएर अघि बढ्नेछु ।’
मुख्य योजना, समन्वय र व्यवशायीहरुको विकास
सङ्घले आफैले धेरै काम गर्न सक्दैन । तर सरोकारवाला निकायहरूसँग समन्वय मात्र गर्ने हो भने पनि इटहरीको औद्योगिक र व्यापारिक क्षेत्रको अवस्थामा धेरै सुधार हुने उनको विचार छ । त्यसको लागि यहाँका सबै राजनीतिक दल, आम नागरिक, सङ्घसंस्थालाई सँगसँगै लिएर हिँड्ने उनी बताउँछिन् । उनी व्यवशायिक विकासमा राजनीतिक हस्तक्षेप र स्वार्थलाई सँगै जोड्न नहुने धारणासमेत राख्छिन् ।
व्यवशायसम्बद्ध विभिन्न निकाय, संस्थाहरू, तीनै तहका सरकार, सुरक्षा निकाय, कर अर्थ र राजस्वसम्बन्धी कार्यालयहरू, बैङ्क तथा वित्तीय संस्थाहरूसँग समन्वयात्मक वातावरण निर्माण गर्ने उनको योजना छ । ‘पार्किङ, घर बहाल, यहाँको ढल निकास, ट्राफिक व्यवस्थापन, कर र राजस्वका विषयमा देखिएका समस्याहरूलाई समन्वयात्मक वातावरणमा समाधान गर्न सकिन्छ,’ उनी भन्छिन्, ‘रणनीतिक योजना बनाएर कोसिस ग¥यो भने असम्भव केही छैन, इटहरीको व्यवशायिक क्षेत्रको संस्थागत विकासको जग बसाउन धेरै काम गर्न सकिन्छ र म गर्छु ।’
उनले व्यवशायीहरुको लागि इटहरीलाई व्यवस्थित र उत्प्रेरक नगर बनाउने सपना देखेकी छिन् । उनी भन्छिन्, ‘उद्यमी व्यवशायीहरुलाई सीप सिकाउने, व्यवसाय सञ्चालनका क्रममा परेका समस्या समाधान गर्न प्रभावकारी संयन्त्र बनाउने, व्यवसायीसँग हरेक हप्ता कुनै न कुनै कार्यक्रम, अभियानहरू बनाएर जोडिइरहने गरी काम गर्ने अनि मेला, महोत्सव र प्रदर्शनीहरू गरिरहने योजना छ ।’
सबैभन्दा मुख्य त, सङ्घलाई व्यवशायीहरुको अभिभावक संस्था बनाएर छाड्ने उनको अठोट छ । ‘त्यसो भयो भने मात्र सङ्घको सदस्य बन्न र नवीकरण गर्न व्यवसायीहरू इच्छुक हुन्छन्,’ इटहरीमा अझै पनि हजारौँ व्यवसायीलाई सङ्घमा जोड्न सकिने कुरामा उनको जोड छ । उनी भन्छिन्, ‘समग्रमा मेरो नेतृत्वको सङ्घले इटहरीका व्यवशायीहरुलाई अभिभावक भएको महसुस गराउनेछ ।’
को–को छन् प्यानलमा ?
सिग्देलको प्यानलमा २७ वर्षका युवासमेत सदस्य छन् । सिग्देल आफै पनि अहिले अध्यक्षका अन्य उम्मेदवारहरूभन्दा युवा हुन् । अग्रजहरूसँग सल्लाह लिँदै नेतृत्व युवाले लिनुपर्ने उनको धारणा छ ।
उनको प्यानलमा महिलातर्फ लीला राई र रुचि शाह छन् । यस्तै वाणिज्यतर्फ सुरेश कार्की, ढुण्डिराज गुरागाईँ, राकेश श्रेष्ठ, बलबहादुर न्यौपाने, सुशील शाह, राजन बानियाँ, हरिप्रसाद गौतम, अनिता निरौला तिम्सिना, दीपक खड्का छन् । यस्तै उद्योगतर्फ राजेन्द्र केशरी घिमिरे, अभिषेक बस्नेत, दिलीप पराजुली र शिवप्रसाद भट्टराई (भूपाल) छन् । यसै गरी वस्तुगत सदस्यतर्फ उमानाथ दाहाल र पुष्पनारायण चौधरी उम्मेदवार छन् । पुष्पनारायण चौधरी इटहरीको पहिलो जाति घोषित थारु समुदायबाट उद्योग वाणिज्य सङ्घ इटहरीको इतिहासकै पहिलो थारु प्रतिनिधिसमेत हुन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP