भवन अभावका कारण लेटाङको एक विद्यालयमा दैनिक ११ घण्टा खट्छन् शिक्षकहरु

दिप खबर
साउन २, २०७९

मोरङको लेटाङ नगरपालिका वडा नम्बर २ स्थित लक्ष्मी माध्यमिक विद्यालयलाई नगरपालिकाले पछिल्लो ४ वर्षदेखि उत्कृष्ट विद्यालय घोषित गरि पुरस्कृत गर्दै आएको छ ।

भर्खरै सम्पन्न नगरसभामा समेत विद्यालय पुरस्कृत भयो । विद्यालयको सिकाइ उपलब्धि, नतिजा र अतिरिक्त क्रियाकलापलाई आधार मानेर नगरपालिकाले यस विद्यालयलाई ४ वर्षदेखि नगरकै उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत गर्दै आएको हो ।

बालकक्षादेखि कक्षा १० सम्म पठन–पाठन हुने यस विद्यालयमा हाल ७ सय ३० जना विद्यार्थी अध्ययनरत छन् । तर यतिका विद्यार्थीलाई एउटै समयमा अध्यापन गराउन विद्यालयसँग पर्याप्त भवन उपलब्ध छैन । पछिल्लो समय लगातार ४ वर्ष नगरकै उत्कृष्ट विद्यालय घोषित भएपछि विद्यार्थीहरुको संख्या भने बढ्दो छ । आसपासका नीजि विद्यालय छाडेर समेत विद्यार्थीहरु अध्ययनका लागि लक्ष्मी माविमा आउने गरेका छन् ।

जुन संख्या वर्षेनी बढ्दो छ । जसका कारण विद्यार्थी संख्या अझै थपिने निश्चित छ, यतिबेलै ३ सिफ्टमा सञ्चालन गर्नुपरेको अवस्था रहेकोमा आगामी वर्ष त्यसले पनि धान्ने अवस्था छैन । हाल विद्यालयमा बालकक्षादेखि १० सम्म अंग्रेजी माध्यममा र कक्षा ६ देखि १० सम्म नेपाली माध्यममा समेत गरेर २२ वटा सेक्सनमा पठन–पाठन भइरहेको छ । तर २२ वटै सेक्सनका कक्षाहरु एकैपटक सञ्चालन गर्न भवन अभावका कारण संभव छैन ।

एकैपटक त परै जाओस् २ पटक गरेर सञ्चालन गर्न खोज्दा समेत कक्षा कोठाको अभाव भएपछि यतिबेला लक्ष्मी माविमा ३ सिफ्टमा विद्यालय सञ्चालन हुने गर्दछ । विहान ६ बजे विद्यालय छिरेका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक लगायत कपितय शिक्षक कर्मचारीहरु साँझ ५ बजेपछि मात्र विद्यालयबाट घर फर्कन्छन् ।

विद्यालयप्रति विद्यार्थी र अभिभावकले गरेको विश्वासका कारण कक्षाकोठा र जनशक्तिको समेत अभाव हुँदाहुँदै पनि विद्यार्थीलाई फर्काउन नसकेको प्रधानाध्यापक राजेन्द्र खतिवडा बताउनुहुन्छ । “कक्षाकोठा र शिक्षकको समेत अभाव छ, तर पढ्छु भन्दै आएकालाई पढाउन सक्दैनौं भनेर फर्काउन नसकिंदो रहेछ ।” उहाँले भन्नुभयो, “अझ विपन्न समुदायका विद्यार्थीहरु धेरै आउँछन्, नीजि विद्यालय उनीहरुको पुहँचमा छैन, नजिकै अर्को सामुदायीक विद्यालय नभएपछि हामीलाई पढाउन बाध्यता पनि छ ।”

हाल विद्यायमा विहान ६ बजेदेखि साँझ ५ बजेसम्म ३ सिफ्टमा कक्षा सञ्चालन भइरहेको छ । विहान ६ बजेदेखि साढे ११ बजेसम्म, विहान ९ बजेदेखि साढे ३ बजेसम्म र विहान साढे ११ बजेदेखि साँझ ५ बजेसम्म गरि ३ सिफ्टमा जसोतसो कक्षाकोठाको व्यवस्थापन गरि पठन–पाठन भइरहेको छ ।

विद्यालयमा कक्षा कोठाको त अभाव छँदैछ शिक्षकको पनि उत्तीकै अभाव छ । प्राथमिक तहको मात्र दरबन्दी रहेको यो विद्यालयमा निम्न माध्यमिक र माध्यमिक तहका शिक्षकको स्थायी दरबन्दी छैन । विद्यालयमा प्राविका ९ जना शिक्षकको मात्र सरकारी दरबन्दी छ । प्राविका ९ जना, निमावि तहमा राहत ३, माविका राहत १ र अनुदान १ गरि १४ जना शिक्षकलाई मात्र सरकारले तलब खुवाउँछ भने विद्यालयले राखेका नीजि श्रोतका १५ जना शिक्षकलाई अभिभावकसँग सहयोग संकलन गरि तलब खुवाउनु पर्ने बाध्यता छ ।

लेटाङ नगरपालिका वडा नम्बर २ मा रहेको यस विद्यालयमा वडा नम्बर ३ किर्तिमानका बालबालिकाहरु समेत पढ्न आउने गर्छन् । निकै ठूलो भूगोल भएकाले र माध्यमिक तह अध्यापन गराउन बालबच्चाहरुलाई निकै टाढा लेटाङ बजार नै पठाउनु पर्ने बाध्यता रहेकोमा २०६३ सालदेखि स्थानीयकै जोडबलमा नीजि श्रोतबाट माध्यमिक तहको अध्यापन हुँदै आएको छ ।

विद्यालयको अन्य कुनै नीजि आयश्रोत नभएपछि अभिभावकहरुले दिएको सहयोगबाट विद्यालय सञ्चालन गरि विद्यालयले उत्कृष्ट नजिता समेत हात पारिरहेको छ । विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएकाले वर्षेनी थपिने विद्यार्थी तथा कक्षा ११ र १२ समेत सञ्चालन गर्नुपर्ने बाध्यता रहेको भएपनि कक्षा कोठाको अभाव र शिक्षकको अभावका कारण समस्या छ ।

नगरपालिकाले उत्कृष्ट विद्यालय घोषणा गरेर वर्षेनी २ लाख रुपैयाँ र अन्य केही बजेट उपलब्ध गराए पनि त्यो विद्यालय सञ्चालनमा नै खर्च हुँदै आएकाले भवन थप्न नसकिएको व्यवस्थापन समिति अध्यक्ष हेरम्बराज भट्टराईको गुनासो छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत २ कोठो एउटा भवन निर्माणाधिन अवस्थामा रहेपनि त्यसले समेत पर्याप्त नहुने अध्यक्ष भट्टराई बताउनुहुन्छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP