जनता मावि र आन्दोलनरत पक्ष बीच तीन बुँदे सहमति, कार्यान्वयन नभए सशक्त आन्दोलन गर्ने चेतावनी

दिप खबर
असार ६, २०७९

इटहरीस्थित जनता माविको शैक्षिक सुधारको माग गर्दै आन्दोलनरत विद्यार्थी संगठनहरु र विद्यालय प्रशासनबिच तीन बुँदे सहमती भएको छ ।

आइतबार राति भएको सहमतीमा यातायात व्यवस्थापन र दिवा खाजा व्यवस्थापनको लागि छलफल गरेर समाधानका उपाय खोज्ने, अविभावकहरुले विद्यार्थी पढाउँदा बुझाउनुपरेको शुल्कको विषयमा सरोकारवालाहरुसँग छलफल गरी सुझावनका आधारमा अघि बढ्ने, शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न विद्यार्थी संघका प्रतिनिधिहरु रहेको तीन सदस्यीय समिति बनाउने निर्णय गरिएको छ । समितिको संयोजकमा अतितकिरण नेपाल रहेका छन् । सदस्यहरुमा नवीन दाहाल, उज्वल सिग्देल र नवीन कट्वाल रहेका छन् ।

सहमतीअनुसार सुधारका लागि विद्यालय तयार नभए सशक्त आन्दोलन गर्ने संगठनहरुले चेतावनी दिएका छन् ।

विद्यालयको व्यवस्थापन समिति गठन अवैधानिक भएको, मनोमानी कर्मचारी नियुक्त गरिएको, विद्यालयले अंग्रेजी माध्यमको लागि चर्को शुल्क लिइरहेको र सेवा सुविधा भने सोअनुसार नदिएको भन्दै असन्तुष्टी बढेको थियो । विद्यार्थी संगठनहरुका साथै सामाजिक अभियन्ताहरुले शिक्षा सुधार अभियान नै सञ्चालन गरेका थिए ।

यसै विषयमा अख्तियारमा उजुरीसमेत परेको थियो । उजुरीमा विद्यालयले अविभावकहरुलाई सूचना नदिएको, आर्थिक पारदर्शिता नभएको, पुस्तक खरिदमा निश्चित पुस्तक पसलबाट ल्याउनु भनिएको, नेपाली माध्यमको कक्षा बन्द गर्ने तयारी गरिएको, दरबन्दीका शिक्षकहरूले नपढाइ जागिर खाएको, विद्यालयलाई भर्तीकेन्द्र बनाइएको भन्दै छानबिन गर्न माग गरिएको थियो ।

विद्यालयले विद्यार्थी संगठनहरुसँग विभिन्न विषयमा सहमती गरेपनि व्यवस्थापन समिति गठन प्रक्रिया तथा कर्मचारी भर्नाको विषयमा भने उल्लेख नभएकोले आफूहरुको अभियान जारी रहेको अभियन्ता सम्राट थापाले बताए ।

उता इटहरीको जनता क्याम्पसमा कर्मचारी नियुक्तिको विषयलाई लिएर भइरहेको आन्दोलन अझै टुंगोमा पुगेको छैन ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP