कर्मचारी नियुक्तिमा सेटिङ नियुक्त गर्न लागेको भन्दै विद्यार्थी संगठनहरुले जनता क्याम्पसमा ताला लगाएका छन् ।
क्याम्पसको समस्याहरु समाधान नगर्ने, उल्टै सेटिङमा भर्ती केन्द्र बनाएर आर्थिक भार थप्न लागेको भन्दै उनीहरुले विरोधस्वरुप ताला लगाएका हुन् ।
कर्मचारी तथा शिक्षकहरुका समस्या समाधान नगरी र आफूहरुसँग संवाद नगरी नयाँ कर्मचारी नियुक्ति गर्ने प्रकृया अघि बढाइएकोमा विद्यार्थी संगठनहरु असन्तुष्ट छन् ।
पुस्तकालयमा पहिला पुस्तकको पर्याप्त व्यवस्था गर्न, विद्यार्थी संगठनहरुसँग समेत छलफल गरेर मात्र कर्मचारी नियुक्ति प्रकृया अगाडि बढाउन उनीहरुले माग गरेका छन् ।
विगतमा विद्यार्थी संगठनहरूसँगको समन्वयमा मात्र कर्मचारीहरु छनोट तथा भर्ती हुने गरेकोमा अहिले प्रशासनले एकलौटी गरेको भन्दै संगठनहरुले संयुक्त आन्दोलन थालेका छन् । अनेरास्ववियु, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू, राप्रविसंघ, समाजवादी विद्यार्थी फोरम, नयाँ शक्ति विद्यार्थी युनियनले तालाबन्दी गरेका हुन्।
क्याम्पसले लेखापालदेखि सफाइ मजदुरसम्म गरेर ६ जना जनशक्तिको माग गर्दै सुचना प्रकाशन गरेको थियो । दुई महिनाअघि सात दिनको लागि भनेर प्रकाशन गरेको सुचना अनुसार ढिलो गरी गत जेठ २९ गते मात्र परिक्षा लिएको थियो ।
क्याम्पसले अन्तर्वार्ताको नतिजा भने प्रकाशन गरीसकेको छैन । विद्यार्थी संगठनहरुले जारी गरेको विज्ञप्ती र तालाबन्दीको बारेमा क्याम्पस प्रशासनले आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छैन ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP