इटहरी उपमहानगरपालिका भित्रका २० वटै वडामा ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा शिविर संचालन हुने भएको छ ।
उपमहानगरको आयोजनामा हुने कार्यक्रममा ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिविर सम्बन्धि दर्ता हुनेछन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ बमोजिम व्यक्तिगत घटना दर्ता, जन्म, मृत्यु, विवाह, बसाइँ सराई र सम्बन्ध विच्छेद घटना घटेको ३५ दिन भित्र सम्बन्धित स्थानीय तहमा दर्ता गराउने विषयलाई मुख्य रूपमा समेटिएको छ । वडा कार्यालय बाट व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता प्रदान हुँदै आइरहेको भएता पनि यो शिविरले अझ नागरिकलाई घरदैलोमा पुगेर सेवा प्रदान गर्ने उद्देश्यले नेपाल सरकारले दर्ता शिविर सञ्चालन गर्ने कार्यक्रम ल्याएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सेवा इकाई केन्द्र इटहरीका एम.आइ.एस अपरेटर सन्दीप बास्तोलाले जानकारी दिए ।
अनलाइनबाट कम्प्युटरमा विवरणहरू भरी घटना दर्ता गरिने र घटना दर्ता मात्र नभएर यसको महत्त्व र आवश्यकता बारे जनमानसमा सूचना सम्प्रेषण होस् भनेर पनि स्थानीय तहमा यो कार्यक्रम आयोजना गर्न लागिएको बास्तोलाले बताए ।
दर्ता शिविरमा व्यक्तिगत घटना दर्ताको निवेदन सङ्कलन, रुजु तथा प्रमाणपत्र जारी, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको निवेदन सङ्कलन गरिने छ । त्यस्तै लगत कट्टा लगायतका कार्य र व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा सम्बन्धी गुनासो व्यवस्थापन गर्ने कार्य रहनेछन् । प्रत्येक शिविर बढीमा ३ दिनसम्म संचालन हुने छ ।
सोही कार्यक्रमलाई मध्ये नगर गर्दै उक्त शिविरमा सहभागी हुने कर्मचारीलाई तीन दिने प्रशिक्षण तालिम समेत सञ्चालन भइरहेको छ । तालिमको दोस्रो दिन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख हेमकर्ण पौडेलले,सङ्घीय सरकारको योजना स्थानीय सरकारले कार्यान्वयन गर्ने कर्तव्य रहेको हुँदा इमानदारीका साथ सबै दर्ता अपरेटर कर्मचारीहरूलाई शिविरमा खटिन निर्देशन दिएका छन् । उक्त कार्यक्रम भोलि समापन हुदैछ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP