रामधुनीको मेयरमा उम्मेदवारी दिएका को हुन्, शंकरलाल चौधरी ?

दिप खबर
बैशाख २७, २०७९

स्थानीय तहको निर्वाचन आउन केही दिन मात्रै बाँकी छ । स्वतन्त्र देखि साना ठुला राजनीतिक दलबाट उम्मेदवार बनेका नेताहरू जनताको घरदैलोमा पुगेर मत मागिसेका छन् । ५ वर्षको लागि जनताको सेवामा खटिने बाचा सहित होमिएका नेताहरू पालिकामा भएका समस्यालाई समाधान गर्ने मुख्य योजना रहेको बताउँछन् । तिनै मध्येका एक हुन्, शंकरलाल चौधरी । सुनसरीको रामधुनीमा राजनीतिक यात्रा तय गरेका चौधरी नेकपा एमालेबाट मेयर पदमा चुनावी तयारीमा रहेका छन् ।
नगरपालिका भित्रका गाउँलाई शहरमा जोड्ने, नगरपालिका भित्र आगलागी हुँदा वारुणयन्त्रको अभाव रहेकाले त्यसलाई पुरा गर्ने, ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराउने जस्ता जनताका साना ठुला कयौँ योजना उनी सँग छन् ।
शंकरलाल चौधरी रामधुनीका पुराना बासिन्दा भएकाले उनले नगरपालिकालाई कस्तो बनाउने भन्ने अल्पकालीन देखि दीर्घकालीन सम्मको विकास योजना रहेको बताउँछन् ।
को हुन्, शंकरलाल चौधरी?
शंकरलाल चौधरी सुनसरीमा कुनै नौलो नाम हैन । अझ थारु समुदायको अग्र भागमा उभिएर हक अधिकारको वकालत गर्ने चौधरी २०१६ सालमा जन्मिएका हुन् । सानै उमेर देखि समाजमा रहेको समस्यामा खुलेर सहयोग गर्ने चौधरी २०४४ सालमा नेपाल शिक्षक आयोग पास गरेर शिक्षण पेसाको यात्रा तय गरेका थिए ।
तर उनी आफुँ जागिर खानु भन्दा समाज सेवामा लाग्ने अठोट गरे । नभन्दै उनले २०४६ मा नेकपा एमालेको सदस्यता लिए । सामाजिक तथा राजनीतिमा लागेर समाज सुधार गर्ने सपना बोकेका चौधरी २०४९ सालमा तत्कालीन भादगाउँ सिनुवरी गाउँ विकास समितिको अध्यक्ष भए । पुनः २०५४ सालमा सोही गाउँ विकास समितिको दोस्रो पटक अध्यक्ष भए ।
त्यसै पदबाट आफ्नो राजनीतिक करियर बनाएका चौधरी २०५४ साल देखि हाल सम्म नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहिआएका छन् । सामाजिक सेवामा सक्रिय रहेकै कारण २०७१ सालमा विभिन्न गाउँ विकास समिति गाभेर रामधुनी नगरपालिका बनाउने चौधरी अग्र मोर्चाका थिए । उनी संयोजक भई बनेको समितिले पूर्णता पाउँदै नगरपालिका समेत निर्माण भएको छ । सामाजिक सेवामा तल्लीन चौधरी नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य समेत रहेका छन् ।
राजनीति कमाऊ धन्दा हैन समाज सेवा हो भन्ने राम्रो बुझेका चौधरी आफ्नो मृत्यु पश्चात् नेत्र दान गर्ने समेत घोषणा गरिसकेका छन् ।
उनको त्यति ठुला सपना जनतामाझ बाँडेका छैनन् । आफुँ नगरपालिकाको मेयर भएपछि भित्री गाउँलाई शहरसगँ जोड्ने, सिप भएका युवालाई आफ्नै गाउँमा रोजगारको सिर्जना गर्ने, खेलकुदमा विशेष जोड दिने, सामुदायिक विद्यालयलाई प्राविधिक लयमा लैजाने जस्ता मुद्दा उनले चुनाव जित्ने आधार बनाएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP