मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार लेटाङ–कानेपोखरी सडकखण्ड अन्तर्गत कानेपोखरी–७ मा प्रदेश १–०२–००३ त ८२० नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल यात्री वृद्धको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ट्याक्टरको ठक्करबाट लेटाङ नगरपालिका ५ का ८१ वर्षीय मानबहादुर राईको मृत्यु भएको हो । प्रहरीले चालक मिक्लाजुङ गाउँपालिका ५ का २६ वर्षीय महेश कार्की र ट्याक्टर लाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।
त्यस्तै, पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैँचा ७ बेलगाछीमा तत्काल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट ८० वर्षीया धनमाया घिमिरेको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । दुर्घटनालगत्तै फरार बनेको मोटरसाइकल र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दुवै घटनाबारे थप अनुसन्धान अगी बढाईएको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP