इटहरीमा काँग्रेसले टिकट नपाउने हल्ला चलेपछि दबाबमूलक चुनावी गीत सार्वजनिक

दिप खबर
बैशाख ६, २०७९

२०७४ सालको स्थानीय तहको चुनावमा नेपाली काँग्रेसले इटहरीमा करिब २ हजार ५०० मतान्तरले पराजित भागेको थियो । पार्टी भित्र देखिएका समस्यालाई समाधान गर्दै एमाले फुट मौका छोपेर केही महिना अघि देखि इटहरी काँग्रेसले गाउँ गाउँमा टोल कमिटी निर्माण गर्दै यस पटकको चुनाव जित्न लागिपरिरहेको छ । तर आइतबार ५ दलीय गठबन्धनमा भाग मिलाउँदा इटहरी उपमहानगर नेकपा एकीकृत समाजवादीलाई पर्ने खाका तयार भएपछि स्थानीय नेता तथा कार्यकर्ता निराश मात्रै हैन आक्रोशित समेत भएका छन् ।

काँग्रेस एक्लै चुनावमा जाँदा पनि जित्ने विश्वास भएको इटहरी नगर कमिटीले आफ्नै भाकामा चुनावी गीत समेत तयारी गरेको थियो । नगर कमिटी सचिव विक्रम घिमिरे र पार्टीका सक्रिय युवा निमेष घिमिरेको शब्दमा रहेको गीत काँग्रेसबाट मेयरको टिकट पाएका उमेद्धार तथा काँग्रेसका नेता भेला गरेर सार्वजनिक गर्ने तयारी रहेको थियो । तर एस पार्टीले टिकट पाउने हल्ला चलेपछि सोमबार इटहरीको होटल इनटुष्टिमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

“बोकौँ है चार तारे झण्डा, काँग्रेस नै राम्रो छ सबैभन्दा” बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा स्वर, सङ्गीत गायक राजन क्षेत्रीको रहेको छ ।

गीतको भिडियोको निर्देशन रोनिस राउतले गरेका हुन् भने प्रोडक्सन डोर्स ओपनले गरेको हो । गीत इटहरीको पर्यटकीय स्थल तालतलैयामा खिचिएको छ ।

तालतलैयाका मनोरम दृश्यसँगै इटहरीको ताजा अवस्था देखाइएको छ । इटहरीका भित्री गाउँ र सहिरलाई पनि भिडियोमा देखाइएको छ ।

गीतमा इटहरीको विकास र संवृद्धि अब नेपाली काँग्रेसले गर्ने शब्दद्वारा व्यक्त गरिएको छ ।

गीत सङ्गीतमार्फत काँग्रेसको अभियान गाँउगाउँसम्म र हरेक नागरिकसम्म पुर्‍याउन गीत तयार गरिएको नगर सचिव घिमिरेले बताए । उनले काँग्रेसका केन्द्रीय सदस्य लगायतका नेता तथा कार्यकर्ता जम्मा गरेर सार्वजनिक गर्ने तयारी हुँदाहुँदै गठबन्धनको माहौलले गर्दा आकस्मिक सार्वजनिक गर्न बाध्य भएको बताए । उनले गीत मार्फत इटहरीमा काँग्रेसबाटै मेयर तथा उपमेयरको टिकट पाउनु पर्ने दबाब समेत निर्माण गरेको उल्लेख गरे ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP