पाँचथरको फिदिममा घर निर्माण गर्न शिलान्यास गर्ने क्रममा माथिबाट झरेको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घटनामा पूर्व शिक्षक एवं माओवादी केन्द्रका नेता गोपाल प्रकाश ढुंगानाको मृत्यु भएको हो । पहिरोले पुर्दा १० वर्षीया क्याट्रिना पन्थाक घाइते भएकी छन् । घाइतेलाई उपचारका लागि फिदिमस्थित समर्पित अस्पतालमा भर्ना गरिएको छ ।
आज बिहान साढे आठ बजे छिमेकीको घर निर्माणकालागी सम्याइएको घडेरीमा शिलान्यास गर्ने क्रममा अर्का छिमेकी लेखनाथ खतिवडाको सेप्टिक ट्यांकी फुटेर पहिरोको रुप लिँदै आएको ढुंगा र माटोले ढुंगानालाई पुरेको थियो । ढुंगानालाई मदन पन्थाक परिवारले शिलान्यासका क्रममा पुजारीको रुपमा बोलाएको थियो ।
एक्सकाभेटर प्रयोग गरेर ढुंगानालाई बाहिर निकालिए पनि उनको त्यसअघि नै ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ६७ वर्षीय सेवा निवृत्त शिक्षक ढुंगाना सुखवोध मावि जोरसालका पूर्व प्रधानाध्यापक एवं पछिल्लो समय माओवादी केन्द्रमा प्रवेश गरेका उनलाई सो पार्टीले प्रदेश सल्लाहकार परिषद् सदस्य एवं जिल्ला सदस्यको जिम्मेवारी दिएको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP