रौतहटमा काठ तस्करले आक्रमण गर्दा दुई जना वन कर्मचारी घाइते

बैशाख २, २०७९

रौतहटमा काठ तस्कर समूहको आक्रमणबाट दुई जना वन कर्मचारी घाइते भएका छन् । तस्कर समूहको आक्रमणबाट डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका फोरेस्टर शम्भु महतो र सशस्त्र बन रक्षक रत्न बहादुर बुढाथोकी घाइते भएका हुन् । 


फोरेस्टर महतोको चन्द्रपुर अस्पतालमा उपचार भएको डिभिजन प्रमुख अमरदेव यादवले जानकारी दिएका छन् । त्यसै गरी वन रक्षक थापाको उपचारपछि उनी हाल जिल्ला वन कार्यालयमा रहेको प्रमुख यादवले बताएका छन् ।


फोरेस्टर महतो र बन रक्षक बुढाथोकी सिमरी गाउँतर्फ गस्तीको क्रममा राति १२ बजे सिमरी गाउँ छेउमा दुई जना तस्कर मोटरसाइकलमा काठ चोरेर गई रहेका थिए । गस्ती टोलीमा २ जना मात्र रहेको थाहा पाएपछि उनीहरू सिमरी गाउँबाट थप केही मानिस बोलाएर फोरेस्टर शम्भु महतो र बन रक्षक रत्न बुढाथोकीमाथि आक्रमण गरेका थिए ।


आक्रमण भएपछि प्रमुख यादवको निर्देशनमा सशस्त्र प्रहरीसहित थप वन सुरक्षा टोली त्यहाँ पुगेर फोरेस्टर महतो र बन रक्षक बुढाथोकीको उद्धार गरेको सेक्टर बन कार्यालय चोंचाका प्रमुख बैधनाथ मण्डलले बताएका छन् ।


आज बिहान घटनास्थलबाट वन गस्ती टोलीले तस्करले प्रयोग गरेको बा २६ प ४४१२ नम्बरको मोटरसाइकल र चोरेर लगिरहेको काठ बरामद गरेको सेक्टर प्रमुख मण्डलले जानकारी दिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP