सुनसरीको झुम्का कारागारमा कैदी समूहबिच झडप हुदा २५ जना कैदी घाइते भएका छन् ।
बुधवार दिउसो कारागारको बी ब्लकमा रहेका कैदी बन्दी समूह बिच झडप हुँदा २५ जना घाईते भएका हुन् । घाईते कैदीमध्ये ५ जना गम्भीर घाईते भएको र उनीहरुको उपचार जिल्ला अस्पताल इनरुवामा भईरहेको प्रहरीले जनाएको छ । बाँकी २० जनाको कारागारमै स्वास्थ्यकर्मी झिकाएर उपचार गरिएको जेलर शाहले बताए ।
कारागारको चौकीदार को बन्ने भन्ने विषयमा विवाद हुँदा दुई समूहबिच झडप भएको बताइएको छ ।
झुम्का कारागारको बी ब्लकका चौकीदार समेत रहेका कैदी खड्गबहादुर राई र ए ब्लकका जोन नाल्बो लिम्बूलाई मुढा बनाउने कच्चा पदार्थ खरिद गर्न बजार निस्किएको बेला जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले सोमबार पक्राउ गरी रातारात अन्यत्र सरुवा गरेपछि दुई दिनयता कारागार अशान्त बनेको हो ।
राईलाई डिल्लीबजार कारागार र लिम्बूलाई भिमफेदी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए । उनीहरूलाई बिना कारण रातारात अन्यत्र सरुवा गरेको भन्दै सोही रात पनि कारागारमा कैदीबन्दीहरुले प्रदर्शन गरेका थिए । सरुवा भएर अन्यत्र सारिएका दुई चौकीदारको ठाउँमा नयाँ चौकीदार कसलाई बनाउने भन्नेमा विवाद हुँदा झडप भएको र अवस्था सामान्य बनाउने पहल भइरहेको जेलर शाहले जानकारी दिए । -कपुरी
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP