विराटनगरबाट मानव अङ्गसहित एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले मङ्गलवार पक्राउ गरेको छ । पक्राउ परेका भारतीय नागरिक धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी हुनसक्ने सशस्त्रको अनुमान छ ।
सशस्त्र प्रहरी बल (बोर्ड आउट पोस्ट) रानीका प्रहरी निरीक्षक प्रभातकुमार गौतम नेतृत्वको टोलीले भारत विहार को पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई बिहान ११:४० बजेतिर पक्राउ गरेको हो । सशस्त्रका अनुसार सिन्हाको साथबाट सन् २०१६ सेप्टेम्बरमा बिपी प्रतिष्ठानले बनाइदिएको विद्यार्थी परिचयपत्र फेला परेको छ । परिचयपत्रका बारेमा अनुसन्धान भइरहेको सशस्त्रले जनाएको छ ।
सिन्हालाई नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१५ रानी नाकाको १ नम्बर ढाटबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए ।
सिन्हाले भारततिर लैजाँदै गरेको अवस्थामा मानव खप्पर, बङ्गारा, घाँटी र प्युठाँको हड्डी १र१ वटा, काँधको हड्डी २, खुट्टाको नली हड्डी ३, हातको हड्डी ६, करङ ७, ढाड, औँला र कुर्कुच्चाको हड्डी ८:८ वटा बरामद भएको एसपी राजकुमार लामिछानेले बताए । लामिछानेका अनुसार रिक्सामा चढेर भारततिर जाँदै गरेको अवस्थामा सिन्हालाई पक्राउ गरिएको हो ।
शङ्का लागेर चेकजाँच गर्दा उनले कार्टुनभित्र प्याक गरेर लैजाँदै गरेको अवस्थामा मानिसको शरीरका अङ्गहरू बरामद भएको लामिछानेको भनाइ छ । पक्राउ परेका उनी माथि कारबाही पक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP