विराटनगरमा चिकित्सक मृत फेला परेको घटना थप रहस्यमय बन्दै गएको छ । नोबेल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक २६ वर्षीय विजय यादवको मृत्युको कारण अहिलेसम्म यकिन हुन सकेको छैन ।
प्रहरीको एक साता लामो अनुसन्धानले उनको मृत्युको कारण पहिल्याउन नसक्दा घटना थप रहस्यमय र पेचिलो बनेर गएको हो । घटनालाई निस्कर्षमा पुर्याउन प्रहरीले अनुसन्धानलाई भने जारी राखेको छ । तर घटनासँग सम्बन्धित प्रमाण जुटाउन प्रहरीलाई गाह्रो पर्दा अनुसन्धान जटिल मोडमा पुगेको छ ।
परिवारका सदस्य र आफन्तले उनको हत्या भएको दाबी गर्दै आएका छन् । अनुसन्धानमा दबाब दिन हिरा यादवको संयोजकत्वमा डा. विजय न्याय संघर्ष समिति गठन गरिएको छ । समितिले घटनाको वास्तविकता पत्ता लगाएर दोषीमाथि कारबाही हुनुपर्ने माग राख्दै शनिबार विराटनगरमा प्रदर्शनसमेत गरेको थियो ।
प्रहरीले डा. विजयसँगै होटलमा राति अबेरसम्म खानपिन गर्ने २ जनासहित ८ जनालाई नियन्त्रणमा लिएर यस घटनाको अनुसन्धान गरिरहेको छ । सिसी टिभी फुटेज, कल डिटेल रिपोर्ट (सीडीआर) समेतका आधारमा प्रहरीले घटनाको अनुसन्धान गरिहेको हो ।
घटनालाई गम्भीर र शंकास्पद मानेर निक्कै संवेदनशील हिसाबले अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP