नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप दिइन लागिएको छ । आगामी २५ चैतदेखि १८ वैशाखसम्म देशभरका करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई एक मात्रा खोप दिन लागेको बताए ।
पछि १५ महिनाका प्रत्येक बालबालिकालाई नियमित खोप कार्यक्रम मार्फत एक मात्रा खोप दिने उनको भनाइ छ । अभियानको क्रममा टाइफाइड खोप स्थानीय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुने उनले बताए ।
विद्यालय नभएका वा कम भएका वडाहरूमा बाह्य खोप केन्द्र सञ्चालन गरिनेछ । देशभर खोप अभियानका लागि १० हजार स्वास्थ्यकर्मी परिचालन गरिने डा.लालले बताए ।
पाँच वर्षको तथ्याङ्क अनुसार नेपालमा बर्सेनि औसतमा चार लाख ५० हजार जनाभन्दा बढीमा टाइफाइड सङ्क्रमण हुने अनुमान छ । तीन वर्षको तथ्याङ्क अनुसार पानी तथा खाना जन्य संक्रात्मक रोगहरूमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणहरू मध्ये यो रोग चौथो कारणमा रहेको छ ।
नेपालमा खोप लगाउनको लागि राष्ट्रिय खोप सल्लाहकार समितिले १४ अगस्ट, २०२० मा नै राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो ।
विश्व स्वास्थ्य सङ्गठनले समेत टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशमा प्रयोगको लागि सिफारिस गरेको थियो । यो खोप अभियानसँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हुने निर्देशक डा।लालले बताए ।
नेपालमा हाल दिन लागिएको खोप टाइफाइड कन्ज्युगेट भ्याक्सिन हो । यो विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको र यो विश्वका धेरै देशमा प्रयोग भइरहेको छ ।
खोप लगाइसकेपछि बालबालिकालाई आधा घण्टासम्म निगरानीमा राखिने दाहालको भनाइ छ । यो खोप लगाएपछि अन्य खोपहरूमा जस्तै केही सामान्य असर हुनसक्ने उनको भनाइ छ ।
यस्ता सामान्य लक्षणहरू बिस्तारै आफैँ ठिक भएर जाने उनको भनाइ छ । यो खोप मासुभित्र दिइने र यसले वयस्क र बालबालिकामा दीर्घकालीन रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्ने दाहालले बताए । -खबरहव
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP