चार वटा प्रदेशका १३ जिल्लामा बर्डफ्लूको सङ्क्रमण देखियो

चैत्र २२, २०७८

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लू सङ्क्रमण बढेको भन्दै उच्च सतर्कता अपनाउन कृषकहरूसँग आग्रह गरेको छ । झन्डै दुई महिनाको अवधिमा चार वटा प्रदेशका १३ जिल्लामा बर्डफ्लूको सङ्क्रमण देखिएको विभागले जनाएको छ ।


गत ११ माघमा सुनसरीमा पहिलो पटक देखिएको सङ्क्रमण अहिले चार वटा प्रदेशका १३ जिल्लामा फैलिएको पशु सेवा विभागका महानिर्देशक डा.रामनन्दन तिवारीले बताएका हुन् । प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका जिल्लाहरूमा सङ्क्रमण देखिएको तिवारीको भनाइ छ ।


‘सङ्क्रमण फैलिने अवस्थामा देखिएको छ, सङ्क्रमण देखिएको ठाउँमा परीक्षण, नि-सङ्क्रमण र कुखुरा नष्ट गर्ने कार्यलाई तीव्रता दिएका छौँ,’ महानिर्देशक तिवारीले भने, ‘बर्डफ्लू नियन्त्रण बाहिर छैन, तर फैलिन नदिन उच्च सावधानी अपनाउनु पर्ने निष्कर्षमा हामी पुगेका छौँ ।’


पछिल्लो विवरण अनुसार प्रदेश १ का मोरङ, उदयपुर र सुनसरी, मधेस प्रदेशका बारा, पर्सा र धनुषा, बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक एवं गण्डकी प्रदेशको कास्कीमा सङ्क्रमण पुष्टि भएको विभागले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP