माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने मागसहित नेकपा एमालेले दिएको रिटमा आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
माधव नेपालसहितका सांसदको पक्षबाट उक्त रिटमाथिको सुनुवाइ रोक्न दिइएको निवेदन न्यायाधीशहरू अनिलकुमार सिन्हा र नहकुल सुवेदीले अस्वीकार गरेको छ । माधवकुमार नेपालसहितका सांसदको तर्फबाट आइतबारको सुनुवाइ रोक्न माग गर्दै अमर राउतले इजलाससमक्ष निवेदन दिएका थिए ।
तर सो निवेदनको आधारमा इजलासले सुनुवाइ रोक्न अस्वीकार गरेको एक कानुन व्यवसायीले जानकारी दिए । न्यायाधीश सिन्हा र नहकुल सुवेदीको इजलासमा उक्त रिट चौथो नम्बरमा परेको छ ।
यसअघि २९ फागुनमा यस मुद्दा आइतबार पूर्ण सुनुवाइमा पेस गर्ने आदेश भएको थियो । नेकपा एमालेले नेकपा एकीकृत समाजवादी पार्टी गठन नहुँदै माधवकुमार नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो ।
निष्कासनमा परेका सांसदको सनाखतमा अर्को पार्टी गठन गरिनु र उनीहरूको सांसद पद पनि कायम रहनु गैरकानुनी भन्दै अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सङ्घीय संसद् सचिवालयलाई विपक्षी बनाई रिट दिएका थिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP