आइतबार पनि सार्वजनिक बिदा गर्न आयल निगमको १० बुँदे प्रस्ताव

चैत्र १५, २०७८

नेपाल आयल निगमले इन्धनको खपत घटाउन शनिवार सङ्गै आइतबार पनि सार्वजनिक बिदाको प्रस्ताव गरेको छ ।
नेपाल आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउँदै आइतबार पनि बिदा थप्न सुझाव दिएको हो।


 बिदाका कारण सवारीसाधनको सञ्चालन कम भई तेलको खपत घट्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।


निगमले निजी र सरकारी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्न पनि प्रस्ताव गरेको छ। जोरबिजोर प्रणालीले पेट्रोलियमको खपत कम हुन गई निगम र देशको व्यापार घाटामा सकारात्मक प्रभाव पर्ने निगमको ठम्याइ छ ।  त्यस्तै, सरकारले पेट्रोलियमबाट प्रतिलिटर १५ रुपैयाँ कर घटाउनुपर्ने माग पनि निगमले गरेको छ ।


इन्धनको मूल्य वृद्धिबाट उपभोक्तालाई बचाउन र निगमलाई जोगाउन भन्दै निगमले  १० बुँदे प्रस्ताव मन्त्रालयमा पठाएको हो ।


निगमले एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ शुल्क मिनाहा गर्न र बाँकी घाटा मूल्य समायोजनबाट मिलान गर्न पनि भनेको छ ।


पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनको आयातलाई निरुत्साहित गर्न तथा विद्युतीय सवारी साधनमा प्रोत्साहन गर्न, खाना पकाउने एलपी ग्यासको प्रयोग नगरी विद्युतीय चुलो प्रयोग गर्न सरकारबाटै सार्वजनिक आह्वानको प्रस्ताव पनि निगमले आफ्नो १० बुँदामा उल्लेख गरेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP