मोरङका उद्योगीहरूले १२ घण्टासम्म लोडसेडिङ हुँदा उत्पादनमा भारी गिरावट आएको बताएका छन् । मोरङका तीन व्यापारिक संस्थाहरूले बुधवार पत्रकार सम्मेलन गर्दै उत्पादन गरेको वस्तुमा ६० प्रतिशतसम्म गिरावट बताएका हुन् ।
नेपाल उद्योग परिसङ्घ, मोरङ व्यापार सङ्घ तथा उद्योग सङ्गठन मोरङले संयुक्त पत्रकार सम्मेलन गर्दै सहज रूपमा उद्योग सञ्चालन गर्ने वातावरण बनाइदिन माग गरेका छन् ।
गत चैत ८ गतेदेखि नियमित १२ घण्टासम्म बिजुली कटौती हुँदा उद्योगधन्दा नै बन्द गर्नुपर्ने अवस्था उनीहरूको भनाइ छ ।
पिक समयमा विद्युत् कटौती गर्दा मजदुरसमेत मारमा परेको उनीहरूको भनाइ छ । विद्युत् कटौती भएपछि मजदुर कामविहीन हुँदा उनीहरूको चुल्होसमेत बल्न छाड्ने उनीहरूको भनाइ छ ।
विद्युत् सङ्कटको अवस्था सिर्जना भएको भन्दै आपूर्ति बन्द गरिनु सरकारनै गैर जिम्मेवार देखिएको नेपाल उद्योग परिसङ्घ प्रदेश १ का अध्यक्ष भीम घिमिरेको आरोप छ । ‘हाम्रो उत्पादनमा ६० प्रतिशतसम्म गिरावट आएको छ,’ उनले भने, ‘राज्यले ध्यान नदिने हो भने हामी अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्दिनँ ।’
खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुसमेत अन्य देशबाटै खरिद गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
उद्योगलाई आवश्यक विद्युत् उपलब्ध गराउनसमेत उनीहरूले माग गरेका छन् । उनीहरूले ३८ रुपैयाँ प्रतियुनिटले बिजुली किन्न नसक्ने समेत बताएका छन् ।
चैत १० गते प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय बजारमा बिजुलीको भाउ निकै बढेकाले नेपालको मागलाई धान्न महँगोमा बिजुली किन्नु परेको बताएका थिए । तर, उद्योगीहरूले भने आफूले ३८ रुपैयाँ तिरेर उद्योग नै चलाउन नसक्ने बताएका छन् ।
६ घण्टासम्म लोडसेडिङको मार खेप्न सकिने भन्दै उनीहरूले प्राधिकरणसँग लोडसेडिङको तालिकासमेत मागेका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP