खोटाङमा विषादी मिसिएको पानी पिउँदा तीन विद्यार्थी बिरामी

चैत्र १५, २०७८

खोटाङमा विषादी मिसिएको पानी पिउँदा खोटाङमा तीन विद्यार्थी बिरामी परेका छन् । विद्यालयमा जारमा राखिएको पानी पिउँदा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित दाम्ली माविमा कक्षा ८ मा अध्ययनरत छात्र दबिन राई, कक्षा ९ मा अध्ययनरत छात्रा प्रनिसा कुँवर र उर्मिला बिक बिरामी परेका हुन् ।


विषादी मिसिएको पानी पिउँदा बिरामी परेका राई र बिकको उदयपुरको घुर्मीस्थित एक निजी अस्पतालमा र कुँवरको ओखलढुङ्गाको मिसन अस्पतालमा उपचार भइरहेको छ । बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको दाम्ली माविका प्रअ गमराज राईले बताए ।


विद्यालयका परिचरले सोमबार बिहान सधैँ झैँ धाराबाट ल्याएको जारको पानी पिउन गएका तीन छात्र/छात्रा बिरामी परेको हो । पानी दुधिलो भएको र मेटासिटको गन्ध आएकाले पानीमा विष मिसाइएको अनुमान गरिएको डिकुवाका वडाध्यक्ष हरिकुमार खड्काले बताएका हुन् ।


एउटै जारको पानी अगाडि पिउनेलाई केही नहुनु र पछाडि पिउने छात्र/छात्रा बिरामी पर्नुमा बिचमा विषादी मिसाइएको अनुमान गरिएको छ । प्राथमिक उपचारका क्रममा बिरामी छात्र छात्राले बान्ता गरेका थिए ।


पानीमा विषादी मिसिएको आंशकामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताएका छन् । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP