नेपाल प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच दुर्घटना बिमा सम्झौता भएको छ । आज(सोमबार) प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले, अजोड इन्स्योरेन्सका सिइओ कुमारबहादुर खत्री र सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहाल (दिनेश)ले दुर्घटना बिमामा सम्झौता गरेका हुन् ।
यसअघि, अघिल्लो वर्ष पनि सुनसरीसहित प्रदेश १ का १४ वटै जिल्लाका प्रेस युनियन अध्यक्षहरू गरी ३२८ जना सञ्चारकर्मीको दुर्घटना बिमा गरिएको थियो । तर, यस वर्ष जिल्लाका २७१ जना सञ्चारकर्मीको दुर्घटना बिमा गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए । उनका अनुसार बिमामा लाग्ने कुल रकममध्ये आधा रकम युनियनले व्यहोर्ने गरी सम्झौता भएको हो । जसमध्ये एक लाख ३६ हजार रुपैयाँ रकम प्रेस युनियन सुनसरीले व्यहोर्ने र बाँकी रकम इन्स्योरेन्स कम्पनीले व्यहोर्नेगरी सम्झौता भएको उनले बताए ।
‘बीमित सञ्चारकर्मीको दुर्घटनामा मृत्यु भएमा सात लाख रुपैयाँ पाउनेछन् भने घाइते भएमा अधिकतम एक लाखसम्म पाउने गरी सम्झौता भएको छ,’ अधिकारीले भने, ‘दुर्घटनामा अङ्गभङ्ग भए वा कामै गर्न नसकेको अवस्थामा पनि कम्पनीको पोलिसी अनुसार रकम पाइन्छ, आजको मितिबाट एक वर्षसम्मका लागि सम्झौता भएको हो ।’
प्रेस युनियन सुनसरीका उपाध्यक्ष सञ्जीव वाग्लेका अनुसार अघिल्लो वर्ष पनि गरिएको बिमा यस वर्ष पनि दोहोराइएको हो । ‘दुर्घटना विपत्ति रहेकाले कहाँ कति बेला कसरी हुन्छ थाहा हुँदैन, त्यसैले सञ्चारकर्मीको सुरक्षाका लागि हामीले बिमा गरेका हौँ,’ वाग्लेले भने, ‘जिल्लाका सञ्चारकर्मीको दुर्घटना बिमाका लागि हामीले यसअघि मिडिया हाउससँग नामावली मागेका थियौँ, सोही नामावलीका आधारमा बिमा गरिएको हो ।’
अजोड इन्स्योरेन्सका सिइओ कुमारबहादुर खत्रीले बिमा गर्नुले मानिसको जीवनमा सकारात्मक प्रभाव पर्ने बताए । उनले भने, ‘हरेक मानिसले दुर्घटना बिमा गर्न आवश्यक छ, प्रेस युनियनले यसरी सञ्चारकर्मीको दुर्घटना बिमा गरिनुले हामीलाई पनि थप उत्प्रेरित गरेको छ ।’
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP