महोत्तरीमा लागुऔषध सहित दुई जना पक्राउ

चैत्र १४, २०७८

महोत्तरीमा लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजार बस्ने १९ वर्षीय रवि विक र कमलामाई नगरपालिका–५ बस्ने २१ वर्षीय सुमन कुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।


गौशालाबाट बर्दिबासतर्फ आउँदै गरेको अटो ट्याम्पोमा सवार केही व्यक्तिहरूले अवैध लागुऔषध बोकी ओसारपसार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा उनीहरू लागुऔषधसहित पक्राउ परेका हुन् ।


पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५ माईस्थानस्थित चेकप्वाइन्टमा ज १ ह १९३९ नम्बरको अटो ट्याम्पोलाई रोकेर खानतलासी गर्दा लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए ।


उनका अनुसार क्लोरोफेनारामाइन मेलेट सिरप एक्सीप्लोन १०० एमएलको ५ बोतल, नाइट्राभेट–१० लेखिएको १९ चक्की र ट्रमाडोल क्याप्सुल ८ चक्की बरामद भएको हो । उनीहरू माथि थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP