रुसले आक्रमण सुरु गरेयता १३५ जना बालबालिका मारिएको युक्रेन सरकारले बताएको छ। युक्रेनको अभियोजन कार्यालयले दिएको जानकारीअनुसार रुसले गरेको आक्रमणमा परेर थप १५४ बालबालिका घाइते भएका छन्।
रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण थालेको हो। पछिल्लो पटक लुहान्स्क क्षेत्रको रुबिज्ह्न सहरमा रुसले गरेको आक्रमणमा परेर दुई बालबालिकाको मृत्यु भएको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यस्तै बिहीबार डोनेट्स्क क्षेत्रको नोभोमिखाइलिभ्कामा रुसी गोलाबारीका कारण ६ र १३ वर्षका बालबालिका घाइते भएका छन्। यसै गरी १३, १४ र १५ वर्षका बालबालिका जापोरिजिया क्षेत्रको ओबिल्नमा माइनमा परेर मारिएका छन्।
रुसी आक्रमणको निशानामा बालबालिका पनि आएको भन्दै विश्वव्यापी रूपमा निन्दा भइरहेको छ। युद्धका कारण युक्रेनका आधा बालबालिका विस्थापित भइसकेका छन्।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP