कैलालीमा चोरले गर्‍यो “प्रेसर कुकर बम” भित्र चोरिएको सुन फिर्ता 

चैत्र ११, २०७८

कैलालीमा चोरले नै सामान फिर्ता गरेका छन् । जिल्लाको गोदावरी नगरपालिका–१ वनखेत बस्ने नवीन साहुको घरबाट १४ मङ्सिर को हराएको सुन चोरले घर अगाडि प्रेसर कुकरमा राखेर फिर्ता गरेका हुन् ।


चोरले चार महिनापछि चिठ्ठीमा सुझाव लेखेर सुन फिर्ता गरेका हुन् । १४ मङ्सिर को राति करिब १० तोला सुन र १ लाख नगद चोरीको इलाका प्रहरी कार्यालयमा उजुरी परेको थियो । 


‘सुन चोरी भएको भन्दै निवेदन दिएका साहुको घर अगाडि प्रेसर कुकर राखिएको थियो,’ इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले भने, ‘हामीलाई जानकारी भएपछि नेपाली सेनाको बम डिस्पोजल टिमसहित त्यहाँ गएर डिस्पोज गर्दा उक्त कुकरभित्र सुन फेला पर्‍यो ।’ 


प्रेसर कुकरभित्र चोरी भएको सुनका गहनाका साथै त्यसमा घर मालिकलाई चिठ्ठी लेखेर समाजमा मिलेर बस्नुपर्ने लगायतका सुझावहरू राखेको उनले बताए ।  प्रहरी नायव उपरीक्षक खनालले भने, ‘प्रेसर कुकरभित्र सुनका गहनासहित चिठ्ठी थियो, चिठ्ठीमा घर मालिकलाई विकास निर्माणका कुरा गर्दा असहमति राख्नु भएको थियो । अब आइन्दा त्यस्तो असहमति नराख्नु होला, समाजमा मिलेर बस्नुहोला, सबैलाई मान मर्यादा गर्नुहोला लगायतका सुझावहरू लेखिएको छ ।’ 


घटनामा गाउँ टोलकै मानिस संलग्न हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान थालेको छ । ‘यस घटनामा वरपरकै मानिस हुनसक्ने भन्दै हामीले अनुसन्धान थालेका छौँ,’ डिएसपी पोखरेलले भनेका हुन् । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP