नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका नायक पल शाहविरुद्ध मुद्दा दर्ता भएको छ । ११ फागुनमा नाबालिक गायिकाले पलविरुद्ध बलात्कार तथा यौन हिंसा गरेको भन्दै जाहेरी दिएकी थिइन् । अभियोग पत्रमा १२ देखि १४ वर्षको जेल सजाय मागदावी गरिएको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिए । उनका म्यानेजर कृष्ण जोशीलाई मतियारको रूपमा देखाइएको छ । उनलाई भने पललाई मागदावी गरेको सजायको आधा कैद सजाय माग गरेको उनले बताए । अब जिल्ला अदालतले उनीहरूसँग बयान लिनेछ । त्यसपछि थुनछेक बहस हुनेछ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकाएर हिजो अनुसन्धान रिपोर्ट सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । हिजो नै मुद्दा दर्ता गराउने तयारी थियो । तर, समय अभावका कारण दर्ता हुन सकेको थिएन । पलविरुद्ध तीन पटक म्याद थप गरेर अनुसन्धान गरिएको थियो ।
यसअघि नै जिल्ला अदालत नवलपुरमा भने उनी विरुद्ध बलात्कार तथा यौन दुर्व्यवहार गरेको भन्दै अभियोग पत्र दायर गरिएको थियो । गत ३ चैतमा जिल्ला सरकारी वकिलको कार्यालय नवलपुरले अदालतमा मुद्दा दायर गरेको थियो ।
नवलपुर अदालतमा पललाई १२ देखि १४ वर्ष जेल सजायको माग गरिएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ९३० को (ग) अनुसार सजाय माग गरिएको थियो ।
शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसुर गरेको दाबी गर्दै मुद्दा दायर भएको थियो । कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मन्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ । :पूर्वेली निउज
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP