गत सप्ताहान्तमा प्रकाशित वर्ल्ड ह्यापिनेस रिपोर्टले नेपाललाई दक्षिण एसियाली देशहरूमा सबभन्दा धेरै खुसी भएको देखाएपछि त्यसबारे सामाजिक सञ्जालमा निकै चर्चा भएको छ ।
के नेपालीहरू साँच्चिकै त्यति धेरै खुसी छन् त भन्ने आशयका टिप्पणीहरू प्रशस्तै गरिएको छ ।
उक्त रिपोर्टले विश्वका १४६ देशहरूको तुलना गरेर एउटा सूची प्रकाशित गरेको छ जसमा नेपाल ८४औँ स्थानमा छ ।
संसारभरिको औसतका आधारमा नेपाल खासै खुसी मुलुक भएको सङ्केत त्यसले गर्दैन। यद्यपि दक्षिण एसिया र छरछिमेकमा भने नेपाल सबैभन्दा अगाडि छ ।
बङ्गलादेश ९४औँ स्थानमा छ भने पाकिस्तान १२१औँ स्थानमा छ । त्यसै गरी श्रीलङ्का १२७औँ स्थानमा छ भने निकट छिमेकी भारत १३६औँ स्थानमा छ ।
दक्षिण एसियाली देशमध्ये अफगानिस्तान सबैभन्दा पुछारमा १४६औँ स्थानमा छ । भुटान र मालदिभ्स उक्त सूचीमा समाविष्ट छैनन्। उत्तरी छिमेकी चीन चाहिँ ७२औँ स्थानमा छ ।
संसारमै सबभन्दा खुसी मुलुकमा फिनल्यान्ड लगातार पहिलो स्थानमा रहँदै आएको छ । शीर्ष १० मुलुकमा अधिकांश उत्तरी युरोपको वर्चस्व छ ।
:बिबिसी
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP