नेपाल दूरसञ्चार प्राधिकरणले गैर कानुनी रूपमा डलर सटही ‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको छ । इन्टरनेट सेवा प्रदायक सबै कम्पनीहरूलाई प्राधिकरणले सोमबार पत्राचार गरी क्रिप्टोकरेन्सीका एपहरू बन्द गर्न निर्देशन दिएको हो । प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले त्यस्ता एपहरूलाई नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालोसूचीमा राख्न निर्देशन दिइएको हो ।
नेपालमा अहिले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा तथा गैर कानुनी क्रियाकलाप गरी आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले निषेध, डिसएबल तथा कालोसूचीमा राख्न प्राधिकरणलाई पत्राचार गरेको थियो । ‘मन्त्री स्तरीय निर्णय कार्यान्वयनका लागि आएपछि हामीले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई क्रिप्टोकरेन्सीमा प्रयोग हुने सबै एप बन्द गर्न निर्देशन दिएका हौँ,’ मिश्रले भने ।
गैर कानुनी तरिकाले विदेशी मुद्रा विनिमय हुन थालेपछि वैदेशिक मुद्रा सञ्चित घट्दा अर्थतन्त्रमा प्रतिकूल असर परिरहेको भन्दै अर्थ मन्त्रालय, राष्ट्र बैङ्कलगायत निकायहरूबाट क्रिप्टोकरेन्सीबारे अध्ययन भइरहेको छ । अर्थ मन्त्रालयको कार्यदलले क्रिप्टोकरेन्सीबारे छानबिन गरी प्रतिवेदन लेखिरहेको छ । यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजश्व अनुसन्धान विभागले पनि छुट्टै कार्यदल गठन गरेर छानबिन गरिरहेका छन् ।
:-सेतोपाटी
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP