तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्राविको जग्गा गैर कानुनी रूपमा बिक्री वितरण गरेको आरोपमा २० जनाविरुद्ध मुद्दा दायर भएको छ । विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष घनश्याम बानियाँसहित २० जनाविरुद्ध मुद्दा दायर भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै आरोप पत्र दायर गरेको हो । तत्कालीन विद्यालय व्यवस्थापन समितिले निर्णय गरी विभिन्न व्यक्तिहरूलाई घरसारको कागज बनाई सार्वजनिक जग्गा गैर कानुनी रूपमा बिक्री वितरण गरेको खुलेको अख्तियारले उल्लेख गरेको छ ।
विद्यालय व्यवस्थापन समितिको २०५१ वैशाख ११ गतेको निर्णयले सरकारी र सार्वजनिक जग्गालाई घरसारको कागजातहरू बनाई आफैँले घडेरी नम्बर कायम गरी सरकारी सार्वजनिक सम्पत्ति गैर कानुनी रूपमा भोगचलन गर्ने गरी बिक्री गरेको पाइएको अख्तियारले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ, सदस्य सचिव (प्रधानाध्यापक) याम बहादुर ठकुरी, सदस्यहरू घनश्याम बानियाँ, हरि कुमारी महत, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँले १ लाख ६९ हजार ५१ रुपैयाँ लिएर सरकारी जग्गा भोगचलन गर्ने गराउने कसुर गरेको अख्तियारले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP