प्रकाश सपुत भन्छन्, ‘पिर’ गीतले कुनै राजनीतिक पूर्वाग्रह राखेको छैन

फाल्गुन ३०, २०७८

गायक प्रकाश सपुतले ‘पिर’ गीत कुनै राजनीतिक पूर्वाग्रह राखेर नल्याएको बताएका छन् । सशस्त्र युद्धमा सहभागी पूर्व लडाकुको विषयलाई लिएर नेकपा (माओवादी केन्द्र) का भ्रातृ सङ्गठनले गायक सपुतको गीतको आलोचना गरिरहेका र गीत हटाउन माग गरेका छन् । राजनीतिक रूपमा पूर्वाग्रह राखेर गीत ल्याइएको माओवादी कार्यकर्ताले आरोप लगाइरहेका वेला गायक सपुतले आफ्नो त्यस्तो नियत नभएको प्रस्ट्याएका हुन् । पूर्व लडाकुले भोगेको पीडा मात्रै उठाउन खोजेको उनले बताएका छन् । आज बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले यस गीतलाई सहज र स्वाभाविक रूपमा लिन आग्रह गरेका छन् ।


“म करिब चार वर्ष दोहोरी साँझमा काम गर्दा गाउने, बजाउने, पकाउने र पस्कने मध्येका थुप्रै सहकर्मीहरू पूर्व लडाकु थिए । उनीहरू चरम निराशावादी कुरा गर्थे । त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिए,” गायक सपुतले भने, “संयोगले अहिले निस्क्यो । यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पष्ट पार्न चाहन्छु ।”


“पिरले युद्धकै जगमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको । समानताको लागि सँगै लडेका कमरेडहरू बिचमा बढ्दै गएको असमान दूरी देखाउन मात्रै खोजेको,” सपुतले भने, “प्रतीकात्मक रूपमा दृश्यहरू निर्माण गरेर बनाएको एउटा सच्चा कमरेडको कथा हो, पिर ।”


आफ्नो पूर्व गीतहरू जस्तै गीतका रूपमा मात्रै ल्याएको उनले बताएका छन् । “सबैमा सबै खाले क्षमता हुँदैन । मभित्र राजनीतिक चेत छ, तर त्यति धेरै राजनीतिक विश्लेषण गर्ने क्षमता राख्दिनँ,” उनले प्रस्ट्याउँदै भने, “जसरी अघिल्ला गीतहरू बोल माया, दोहोरी ब्याटल, गलबन्दी, बदला बरिलै, फुटेका चुरा, मेरो पनि हैन र यो देश, कुरा बुझ्न पर्छ गीतहरूमा कथा बुन्थे, पात्र बनाउँथे, टुक्का टिप्थे, लय हाल्थे र रेकर्ड/छायाङ्कन गर्थे । यसमा पनि सेम टु सेम त्यही प्रक्रिया छ ।”


यस गीतमा प्रस्तुत गरिएका पात्रका विषयमा अध्ययन गरेको भए पनि यसमा आउन सक्ने प्रक्रियाका विषयमा अनुमान गर्न नसकेको उनको भनाइ छ । “यो बिचमा मैले यस्ता पात्रहरूको अवस्था, स्वभाव, सोचको अध्ययन गरेँ। तर, यस्ता विषय उठान गर्दा आउने राजनीतिक दबाबको केही अनुमान गरे पनि गीत हटाउनेसम्मै आकलन गरेनछु,” उनले भने, “यसलाई गÞलत व्याख्या गरिन्छ र निरुत्साहित गर्न खोजिनेछ भन्ने कुराको हेक्का राखेनछु ।”


उनले पूर्व लडाकु प्रतिकात्मक दृश्यका विषयमा भने आत्म आलोचित भएको जनाएका छन् । “अलि बढी कोट्याइएको एउटा दृश्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृश्य हो । प्रतिकात्मक रूपमा राखिएको दृश्यहरूले कसैको आत्मसम्मानमा प्रत्यक्ष असर पुग्न जाने कुरा मैले महसुस गरेँ,” गायक सपुतले भने, “म यसमा भने आत्मालोचना गर्छु ।”
:-हिमालखबर 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP