सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुरखोलामा आइतबार साँझ जन्ती सवार टिपर अनियन्त्रित भएर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आइतबार साँझ ८ बजे बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४ ९० नम्बरको टिपर अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।
गम्भीर घाइते भएका टिपरमा सवार उदयपुरको कटारी नगरपालिका २ का १९ वर्षीय दीपेन्द्र कुमार र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्य घाइतेहरूको विराटनगर र सिन्धुलीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बेहुला बेहुली भने अर्कै गाडीमा रहेकाले दुवै सुरक्षित रहेको खुलेको छ ।
टिपर र चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP