मोरङ व्यापार सङ्घको आयोजनामा आगामी चैत १८ देखि नौ दिने बृहत् व्यापार मेला(ट्रेड एक्स्पो) सञ्चालन हुने भएको छ । सङ्घका अध्यक्ष नवीन रिजालले आगामी चैत १८ देखि २६ गतेसम्म विराटनगर–२ शंकरपुरस्थित मैदानमा एक्स्पो आयोजना गरिएको बताएका छन् ।
एक्स्पोमा अजै भव्य बनाउन अहिलेसम्म प्रयोग नगरिएको एसी जडित प्रदर्शनी स्थल राखिने दाबी गरिएको छ । एक्स्पोबारे जानकारी दिन पत्रकार सम्मेलनमा बोल्दै सङ्घका अध्यक्ष नवीन रिजालले स्वदेशी उत्पादनको प्रवर्धन गर्ने मुख्य उद्देश्य लिइएको बताएका छन् । यस मेलाले प्रदेश १ को स्वदेशी उत्पादनसहित कृषि, पर्यटन, ऊर्जालगायत अन्य सम्भावित क्षेत्रहरूको प्रवर्द्धन एवं विकासमा जोड दिने जनाइएको छ ।
एक्स्पोमा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक गतिविधिहरूलाई समेटिने जनाइएको छ । करिब दुई लाख दर्शकले अवलोकन गर्ने अनुमानसहित एक्स्पोलाई अत्याधुनिक प्रविधिसहितको बनाइने तयारी रहेको मेलाका संयोजक तथा मोरङ व्यापार सङ्घका उपाध्यक्ष विकास बेगवानीले बताएका छन् ।
मेलामा करिब ३ करोड लगानी हुने र ४५ करोडसम्मको कारोबारको अपेक्षा राखिएको बताएका छन् । एक्स्पोमा नेपालसहित भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादनहरू पनि स्टलहरूमा रहने जनाइएको छ । त्यसै गरी एक्स्पोको इतिहासमै पहिलो पटक जिपलाइन, रिभर्स बन्जी, जिप साइक्लिङ लगायतका साहसिक खेलकुदका विविध गतिविधिसमेत समावेश गरिएको जनाइएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP