दाङको तुलसीपुर–घोराही चार लेन सडक खण्ड निर्माणको जिम्मा लिएर अलपत्र पारेको आरोप लागेका ठेकेदार अनुप पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
ठगी मुद्दा परेपछि ठेकेदार पाण्डेलाई पक्राउ पुर्जी जारी गरेर खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुर–घोराही चार लेन सडक खण्ड निर्माणको जिम्मा लिएका ठेकेदार पाण्डेविरुद्ध कुल ५ करोड ८९ लाख रुपैयाँ ठगी गरेको भन्दै विभिन्न १७ जनाले प्रहरी र प्रशासनमा जाहेरी दिएका थिए ।
पाण्डेविरुद्ध घोराही उपमहानगरपालिका वडा नम्बर–१५ भरतपुरका व्यवसायी तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य गेहेन्द्र बस्नेत एक्लैले एक करोड ४४ लाख ठगी गरेको भन्दै गएको माघमा नै जिल्ला प्रहरी कार्यालय घोराही दाङमा उजुरी दिनुभएको थियो । त्यस्तै थप १६ जनाले जिल्ला प्रशासन कार्यालयमा पाण्डेविरुद्ध ठगी मुद्दा दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले माघ १४ गतेसम्म १६ जनाले अनुप पाण्डेविरुद्ध ४ करोड ४५ लाख ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको जानकारी दिनुभयो ।
पाण्डेविरुद्ध कुल ५ करोड ८९ लाख रुपैयाँ ठगी गरेको भन्दै विभिन्न १७ जनाले प्रहरी र प्रशासनमा जाहेरी दिएको भए पनि एमाले नेता तथा व्यवसायी बस्नेतको जाहेरीका आधारमा जिल्ला अदालतले पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएको छ । :-उज्यालो अन्लाईन
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP