सङ्खुवासभाको मादीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १४ पुग्यो 

फाल्गुन २६, २०७८
सामाजीक सञ्जाल

सङ्खुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । मादी–६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाएका १४ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा संखुवासभा मादी नगरपालिकाका ३० वर्षीया सीता विक, ३२ वर्षीया अञ्जना कटुवाल, ४९ वर्षीय भवानीप्रसाद दाहाल, ४२ वर्षीय इन्द्र अधिकारी, ५ वर्षीया दीक्षा कटवाल, ६० वर्षीय बलबहादुर कार्की रहेका छन् । 

त्यस्तै २८ वर्षीया सविता कार्की, ४८ वर्षीय दीपककुमार दाहाल, ५५ वर्षीय श्याम शेर्पा, बाइतबहादुर तामाङ, ३१ वर्षीय विपीन निरौल (चालक), उमेश भट्टराई (सहचालक), ताप्लेजुङका ८ वर्षीय सुदीप घिसिङ र ताप्लेजुङकै समीक्षा योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता लालध्वज सुवेदीले जानकारी दिए ।   

यस्तै घाइते हुनेमा मादी नगरपालिकाकै ५० वर्षीय डम्बरबहादुर कार्की, २४ वर्षीया करिश्मा तामाङ, २२ वर्षीया तुलसा कटवाल, २४ वर्षीय सुवास तामाङ र २७ वर्षीया युका पोखरेल रहेको प्रहरीले जनाएको छ । 


बिहीबार बिहान ७/३० बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको छ । घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । यात्रुहरू कति थिए भन्ने यकिन नभएकाले खोजी कार्य भने जारी नै छ ।


घाइतेलाई घटनास्थलबाट अहिले चैनपुर लगिएको छ । चैनपुरबाट हेलिकप्टरमा धरान पुर्‍याउने तयारी भइरहेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाले बताएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP