औपचारिक रूपमा एमाले प्रवेश गर्न लागेका मोरङस्थित रङ्गेली नगरपालिकाका प्रमुख दिलीप बगडिया (अग्रवाल)लाई माओवादी केन्द्रले कारबाही गरेको जनाएको छ ।
माओवादी केन्द्रका प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङले एक विज्ञप्ति जारी गर्दै पार्टीले २०७८ साल फागुन १५ गतेदेखि लागू हुने गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी उनलाई निष्कासन गरेको विज्ञप्तिमा बताइएको छ ।
बगडियाले बताएका कुनै पनि भ्रामक कुराहरूको पछाडि नलाग्न रङ्गेली नगर कमिटीका स्थानीय नेता कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकमा अपिल गरिएको छ । मेयर बगडियालाई पार्टीको चुनाव चिन्हबाट नगर प्रमुखमा निर्वाचित भएकोले नगर प्रमुख पदबाट निष्कासन गर्न पार्टीको केन्द्रीय कार्यालय मार्फत निर्वाचन आयोगलाई सिफारिस गरेको पनि माओवादी केन्द्रले जनाएको छ ।
बगडियासहित रङ्गेलीका माओवादी कार्यकर्ता नेकपा एमालेले भोलि सोही ठाउँमा आयोजना गरेको एक कार्यक्रमका बिच पार्टी प्रवेशको तयारीमा रहेको बताइएको छ । उक्त कार्यक्रममा सहभागी हुन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम रहेको बताइएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP