काठमाडौँमा एकै परिवारका पाँच जनाले “सु साइड” नोट लेखेर आत्महत्याको प्रयास गरेको खुल्न आएको छ । यस बारे प्रहरी अनुसन्धान जारी छ । पाँचमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । चार जनाको अचेत अवस्थामा स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उपचार अवस्थामा रहेका ६२ बर्सिया इन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ बर्सिया मन्दिरा प्रधान र ११ बर्सिया सुप्रिया प्रधानको अवस्था गम्भीर रहेको अस्पतालका चिकित्सकले बताएका छन् । उनीहरू बोल्न नसक्ने अवस्थामा छन् । डल्लु स्थायी ठेगाना भएका उनीहरू नागार्जुन–६, डाँडापौवास्थित दुई तले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । प्रहरीका अनुसार काठमाडौँको नागार्जुन नगरपालिका–६, रामकोटमा गए राति एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार ३३ वर्षीय सुवर्णमान श्रेष्ठलाई अस्पतालले मृत घोषणा गरेको हो ।
घटनास्थलबाट प्रहरीले ‘सु-साइड’ नोट समेत बरामद गरेको छ । जहाँ उनीहरूले पछिल्लो एक साताको दैनिकी लेखेका छन् । प्रहरीले घटनास्थल बाट विषाक्त औषधिको बट्टा फेला पारेको छ ।
प्रहरी अनुसन्धानका क्रममा ६२ बर्सिया इन्दिरामाया क्यान्सर रोगी रहेको र अर्का एक सदस्य मानसिक रोगी रहेको र एक जना शारीरिक रूपमा अशक्त रहेको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बुहारी सहकारी संस्थामा काम गर्दै आएको खुलेको एक प्रहरी अधिकारीले बताएका छन् ।
उनीहरूले सु साइड नोटमा परिवारभित्रको मानसिक तनाव र आर्थिक सङ्कटबारे लेखेका छन् । एक प्रहरी अधिकारीले भने, “‘सु साइड’ नोट हामीले अध्ययन गरिरहेका छौँ । घटनाकै बारेमा पनि अनुसन्धान जारी छ । अहिले नै सबै कुरा भन्ने अवस्थामा हामी छैनौँ ।” परिवारका सदस्य सबै अचेत अवस्थामा रहेकाले सबै कुरा खुल्न नसकेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी सुदीप गिरीले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP