रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका युवालाई छिटो लैजान श्रम मन्त्रीको आग्रह

फाल्गुन २३, २०७८

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले ईपीएस अन्तर्गत रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो लैजान आग्रह गरेका छन् । 

कोरियाको मानव संसाधन विकास बोर्ड (एचआरडी) कोरियाका नेपाल प्रतिनिधि किम उन डकसँगको भेटमा रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी बसेकालाई छिटो लैजान आग्रह गरेका हुन् । उनले व्यावसायिक उडान खुला गरी छिटो पठाउने प्रबन्ध गर्न कोरियाली पक्षसँग आग्रह गरे । अहिले चार्टर उडानमार्फत कोरिया लैजाने गरिएकोमा व्यावसायिक उडान खुला भएपछि नियमित हुनेछ भने कम शुल्कमा जान पाइनेछ । 

एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले अहिले दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमण तीव्र रूपमा फैलिरहेको बताए । कोरोना महामारीका कारण रोकिएका कामदार छिटो ल्याउन कोरिया सरकार सकारात्मक भए पनि महामारीका कारण समस्या भएको उनले बताए । विदेशी श्रमिक अनिवार्य क्वारेनटिन बस्नुपर्ने भएकोले क्वारेनटिन अभावले धेरै श्रमिक एकै पटक लैजान नसकिएको उनले बताए । व्यावसायिक उडान खुला गर्न आवश्यक प्रक्रिया सुरु गरिएको जानकारी दिँदै छिटो सञ्चालन हुने विश्वास व्यक्त गरे ।

यसअघि कोरोना सङ्क्रमणको जोखिमका कारण माघको दोस्रो सातादेखि श्रमिक लैजान रोकिएकोमा हालै पुनः खुला गरिएको थियो । करिब सात हजार श्रमिक कोरिया जान छनोट भएकोमा कोरोना सङ्क्रमणपछि ९८४ जना गइसकेका छन् भने आज १७४ जना जाँदै छन् । यसपछि मार्च १६ गते १७० जना जानेछन् । -१२खरी

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP