करिब तीन हजार अमेरिकीले युक्रेनमा रुसविरुद्ध लड्न स्वयंसेवा गर्ने इच्छा जताएका छन् । वासिङ्टन डिसीमा रहेको युक्रेन दूतावासका एक प्रतिनिधिले समाचार सेवा भ्वाइस अफ अमेरिकालाई जानकारी दिएका हुन् । ती प्रतिनिधिका अनुसार करिब तीन हजार अमेरिकीहरूले रुसी आक्रमणविरुद्ध युक्रेनको अपिललाई प्रतिक्रिया दिएका छन् ।
युक्रेनले बारम्बार माग गरे पनि पश्चिमी देशहरूले युक्रेनमा आफ्ना सेना पठाइरहेका छैनन् । तर, यी देशहरूले रुसी सेनासँग लड्न युक्रेनलाई हतियार भने दिइरहेका छन् । यसबाहेक पश्चिमी देशहरूले रुस र यसका केही प्रमुख व्यापारीमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूले रुससँग लड्न विदेशी स्वयंसेवकहरूको ‘अन्तर्राष्ट्रिय सेना’ बनाउन आह्वान गरेका छन् । केही दिनअघि राष्ट्रपति जेलेन्स्कीले युक्रेनलाई लडाइँमा मद्दत गर्न करिब १६ हजार विदेशीले स्वयम् सेवा गरेको बताएका थिए । युक्रेनको अवस्था निकै नाजुक रहेको बिबिसी समाचारले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP