अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप प्रतियोगिताको २३ औँ संस्करण आगामी चैत २६ गतेबाट हुने भएको छ ।
धरान फुटबल क्लबले आज (बुधवार) पत्रकार सम्मेलन गर्दे प्रतियोगिता चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो । धरान १६ स्थित रङ्गशालामा हुने प्रतियोगितामा भारतको २ क्लबसहित ८ टिम सहभागी हुने क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए ।
प्रतियोगितामा सम्भावित सहभागी टिमहरूमा हालै सम्पन्न भएको सहिद स्मारक लिगको उत्कृष्ट ३ वटा टिम रहेको पनि आयोजकले जनाएको छ । यस्तै, भारतका २ वटा क्लब र मोफसलको अन्य २ उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी हुने आयोजकको भनाई छ ।
प्रतियोगिताको विजेताले ट्रफी सँगै नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउनेछ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख ५० हजार पाउने छन् ।
त्यस्तै आयोजकले प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार नगद पुरस्कार दिने व्यवस्था गरेको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २० हजार पाउनेछन् भने उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद १५ हजार पुरस्कार पाउनेछन् ।
सहभागी टिमहरूको निक्यौल भएपछि पुनः पत्रकार सम्मेलन गरेर जानकारी दिने पनि अध्यक्ष राईले बताए । प्रतियोगितामा ६६ लाख आम्दानी हुने अनुमान गरिएको छ भने ५१ लाख ३२ हजार खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको लागि यो वर्ष धरान उपमहानगरपालिकाले कुल १८ लाख बजेट दिने निर्णय गरेको छ ।
गत वर्ष कोरोना महामारीको कारण प्रतियोगिता गर्न नसकिएको बताउँदै अध्यक्ष राईले यो वर्ष खेलप्रेमीहरुको विशेष अनुरोधमा आयोजना गर्ने हिम्मत गरेको पनि बताए । २०५५ सालदेखि आयोजना हुँदै आएको प्रतियोगिता गत वर्ष पहिलो पटक रोकिएको थियो । अबका वर्ष भने निरन्तरता दिने आयोजकले बताएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP