सरकारले तोकेको सेवा सुविधा नदिएको भन्दै सुनसरीको सदरमुकाम इनरुवाका बालबालिका केन्द्रका शिक्षिका र कर्मचारीले नगरपालिका भित्रका सबै सरकारी विद्यालय बन्द गराएका छन् ।
आर्थिक वर्ष २०७८/७९ को बजेटमा शिक्षिका र कर्मचारीले खाई रहेको तलबमा दुई हजार सरकारले थप गरिदिने र बाँकी ७ हजार स्थानीय सरकारले व्यवस्था गर्नु पर्ने भने पनि तोकिएको सुविधा नपाएको भन्दै उनीहरूले विद्यालय नै बन्द गराएका हुन् ।
नगरप्रमुखलाई पटक पटक ज्ञापन पत्र बुझाउँदा पनि बेवास्ता गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको संर्घष समितिका संयोजक सोनु मगर ढुङ्गेलले बताइन् । उनले आन्दोलनको बेवास्ता गरे चरणबद्ध आन्दोलनमा उत्रिने समेत चेतावनी दिइन् ।
त्यस्तै आन्दोलनरत शिक्षिका सरस्वती डाँगीले अन्य जिल्लामा सङ्घीय सरकारको नियम लागु हुने तर इनरुवा नगरपालिकामा नहुनुले घर नजिकको सरकारप्रति विश्वास हराउन थालेको बताइन् । गत साउन देखि नै पाउनु पर्ने रकम ८ महिना बितिसक्दा पनि नपाउँदा दुख व्यक्त गरिन् । उनले माग पुरा नभए अझ शसक्क्त आन्दोलन गर्ने समेत बताइन् ।
त्यस्तै बिपी मेमोरियल आधाभुत विद्यालय विद्यालयका आन्दोलनरत कर्मचारी महाबुद्ध मियाले स्थानीय सरकारले सानो कर्मचारी भनेर हेपेको आरोप लगाए । उनले अन्य पालिकामा सहजै खर्च सक्ने तर हाम्रो नगरले किन सक्दैन भन्दै प्रश्न गरे । उनले सरकारले नै श्रम शोषण गरेको समेत आरोप लगाए । “यस अघि नगरप्रमुखसँग पटक पटक वार्ता गर्दा मेयरले २ हजार थप गरिदिन्छु भन्नु भयो, माथिबाट ७ हजार थप हुन्छ भनेको छ, हामीले किन २ हजारमा मान्ने” उनले प्रश्न गरे “यो सरकारले नगरेको अर्को सरकारले गर्छ भनेर कसरी विश्वास गर्नु, जसरी हुन्छ सङ्घीय सरकारले बजेट भाषणमा उल्लेख गरेको १५ हजार सेवा सुविधा पाउनु पर्यो हाम्रो माग यत्ति हो ।”
गत साउन देखि नै अन्य पालिका, जिल्लामा लागु हुँदा इनरुवामा लागु नहुनुले स्थानीय सरकार नै श्रम शोषण गर्न लागि परेको आन्दोलनरत पक्षको आरोप छ । पटपकपटक ज्ञापन पत्र बुझाउँदा पनि बेवास्ता भएपछि धर्ना, आन्दोलन हुँदै, विद्यालय नै बन्द गर्न बाध्य भएको बताए ।
यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले भने नगर कार्यपालिकाबाट आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने बताए । आम्दानीको श्रोत जुटाउन समस्या भएकै कारण सरकारले तोके अनुरूप दिन नसकिएको उनको भनाई छ ।
इनरुवा नगरपालिकामा बालबालिका केन्द्रमा ८५ जना र विद्यालय कर्मचारी ६५ जना रहेका छन् । विद्यालय बन्द गराएपछि ३० वटा विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP