सुनसरी/ शिवरात्रिको अवसरमा इटहरी रङ्गशालाको ब्याडमिन्टन कर्वड हलमा नगर स्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । नेकपा एमालेको जन वर्गीय सङ्गठन “नेपाल खेलकुद महासङ्घ” इटहरी नगर कमिटी द्वारा आयोजित इटहरी नगर स्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता भएको हो । उक्त कार्यक्रममा ३४ टिमको सहभागिता रहेको थियो । कार्यक्रममा हिमाल राई र सुमन बरालको टिम प्रथम भएको छ । त्यसै गरी कृष्ण तिम्सिना र लाक्पा शेर्पाको टिम द्वितीय, हरीचन्द्र इङनाम र बद्री धितालको टिम तृतीय भएको छ ।
आयोजित प्रतियोगिता नेपाल खेलकुद महासङ्घ इटहरीका अध्यक्ष ढुण्डिराज गुरागाईँको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको उद्घाटन इटहरी उमा नपा उप–प्रमुख लक्ष्मी गौतमको प्रमुख आतिथ्यमा भएको थियो । समापन कार्यक्रमको प्रमुख आतिथ्यमा नेकपा एमाले जिल्ला सुनसरी जिल्ला कमिटी अध्यक्ष रेवतीरवण भण्डारीको रहेको थियो ।
शिवरात्रिको अवसरमा कार्यक्रममा नेपाल खेलकुद महासङ्घ केन्द्रीय सदस्य सुरेश कार्की, तेक्वान्दो प्रदेश उपाध्यक्ष ईश्वर विक्रम शाह, इटहरी उपमहानगरपालिका ९ का वडा अध्यक्ष भूपेन्द्र बराल लगायत खेलकुद क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूको उपस्थित रहेको इटहरी नगर कमिटी अध्यक्ष ढुण्डिराज गुरागाईँले जानकारी दिए ।
कार्यक्रमको विशिष्ट अतिथिको रूपमा बोल्दै नेकपा एमाले नगर कमिटी अध्यक्ष याम कुमार सुब्बाले “नेकपा एमालेले मात्र यस्तो सशक्त पार्टी हो, जसले देशमा रहनु हुने बालबालिका देखी युवा जस्ता नागरिकलाई खेलकुदको माध्यमबाट समाजलाई अनुशासन, विकास प्रेमी बनाउने सिकाउनको लागी प्रेरणा दीने पार्टी रहेको र आगामी दिनमा पनि खेलप्रति आफ्नो पार्टी सदैव लागिपर्ने बताए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP