युक्रेनमा रहेका ३ सय २ जना नेपालीलाई विभिन्न देशमा सुरक्षित साथ सारियो

फाल्गुन १८, २०७८

रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्यान्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिएका हुन् ।

गैर आवासीय नेपाली सङ्घ, द्वन्द्व प्रभावित नेपालीको उद्धार गरिएको सङ्ख्या उच्चस्तरीय समितिका अनुसार मङ्गलवार सम्म युक्रेन छाडेर २ सय ३२ जना पोल्यान्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका छन् । 

उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा.बद्री केसीले रुसमा रहेका नेपालीले समेत नियमित रूपमा युक्रेनमा रहेका नेपालीसँग सम्पर्क रहेको जानकारी दिए । रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी केभमा रहेका सम्पूर्ण नेपालीले युक्रेन छोडेको जानकारी दिए ।  उनले पछिल्लो समयमा रुसमा रहेका नेपाली विद्यार्थी चिन्तित रहेर दूतावासको सम्पर्कमा आउन थालेको जानकारी दिए । पश्चिमी मुलुकले रुससँगको हवाई उडानमा प्रतिबन्ध लगाएका कारणले रुसमा बस्ने नेपालीमा समेत संशय थपिएको छ । स्वास्थ्य समितिका संयोजक डा.बोध सुवेदीले  गैर आवासीय नेपाली सङ्घले अप्ठ्यारामा परेका नेपालीलाई खाना बस्नको व्यवस्था गरेको जानकारी दिए ।

एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले नेपालीहरूलाई खाना बस्ने र परिचयपत्र लगायत बन्दोबस्तको व्यवस्था मिलाइएको जनाकारी दिएका छन् । उनले अलपत्र परेर त्यहाँ पुगेका नेपालीले आफ्नो सञ्जाल बनाएर एक अर्कालाई सहयोग गरेको बताएका हुन् । गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त युद्ध पीडितको उद्धारका लागि सोमबारदेखि पोल्यान्डको सीमा क्षेत्रमा आफैँ खटिएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP