इटहरी उपमहानगरपालिकाको नगर गौरवको दोस्रो ठुलो योजना अन्तर्गत कचना वुढिगंगा स्कुल इटहरी ४ को छात्रावास सहितको सुविधा सम्पन्न भवन निर्माण सुरु गरिएको छ । इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीले भवनको आज (मङ्गलवार) शिलान्यास गरेका हुन् ।
१५ करोड ४४ लाख ७७ हजारका लागतमा दुई वर्षभित्रमा छात्रावास सहितको तीन तले भवन निर्माण हुने उपमहानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरेले जानकारी दिए । भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले आफ्नो कार्यकालमा इटहरीको भौतिक पूर्वाधार विकासमा इटहरीले चौतर्फी फड्को मारेको बताए ।
उनले इटहरी बासिन्दाको उल्लेख्य सहयोगमा इटहरीका जनप्रतिनिधिले सम्वृद्धिको अगुवाइ गरेको बताए । आफ्नो कार्यकाल सकिन अब ७४ दिन रहेको बताउँदै दैनिक नै नयाँ कामको शिलान्यास तथा निर्माण सम्पन्न कार्यको उद्घाटन गर्ने बताए । इटहरीवासीले गाँस काटेर दिएको करबाट इटहरीले काँचुली फेरेको समेत उनको भनाई छ ।
उपप्रमुख लक्ष्मी गौतमले छात्रावास सहितको अत्याधुनिक सामुदायिक विद्यालय यो सुनसरीमै पहिलो हुने दाबी गरिन् । आफ्नो कार्यकालमा भवन निर्माण तथा सडकमा उल्लेखनीय प्रगति गरेको बताइन् । उनले सबै वडामा स्वास्थ्य चौकी निर्माण, वडा भवन निर्माण जस्ता जनतालाई सहज हुने कार्य गर्न पाउँदा खुसी व्यक्त गरिन् । कार्यक्रममा बोल्दै उपप्रमुख गौतमले यो इटहरी उपमहानगरको शैक्षिक क्षेत्रको फरक र महत्त्वपूर्ण गौरवको कार्यक्रम रहेको बताइन् ।
शिक्षा सेवी लेखनाथ घिमिरेले यति ठुलो योजनाका लागि पहल गर्ने इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिप्रति आभार व्यक्त गरे । इटहरी उपमहानगरपालिकाको पहलमा राष्ट्रिय योजना आयोग मार्फत सङ्घीय सरकारको विशेष अनुदानमा उपमहानगरपालिकाको दश प्रतिशत लगानी थप गरी भवन निर्माण हुने छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP