धरानमा एकै दिन महिला पुरुषको शब फेला, एक पुरुष फरार

दिप खबर
फाल्गुन १७, २०७८

सुनसरीको धरान १८ बुद्धचोकस्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एम महिलाको शब फेला परेको छ । इटहरी ५ जनता बस्ती डेरा गरी बस्ने ३९ बर्षीया सुमित्रा तामाङ भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
दुई दिन देखि एक पुरुषसँग बस्दै आएकी उनको आज बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालय धरानको टोलीले अनुसन्धान गरिरहेको छ । महिलासँगै बसेका पुरुष फरार छन् । उनले हत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । महिलाको अनुहारमा चोटसमेत देखिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरका अनुसार अहिले मुचुल्का गर्ने काम भइरहेको छ । मृतकसँगै आएका पुरुषको पनि पहिचान गर्न र खोजी कार्य अघि बढाइएको उनले बताए। उनले भने ‘मृतकका आफन्त आएर सनाखत गरपछि मुचुल्काको काम हुदैछ । इटहरीमा डेरा गरी बस्ने रहेछ । श्रीमान् ब्रुनाईमा छन् । केटाको पनि पहिचान गर्ने काम हुदैछ । घरमा आउने जाने मान्छे नै हो भन्ने खुलेको छ ।’

मृतकको घर पाँचथरको मिक्लाजुङ गाउँपालिका १ रहेको उनको मतदाता परिचयपत्रबाट खुलेको थियो । मृतकको ब्यागमा भेटिएको अन्य कागजपत्रको आधारमा प्रहरीले परिवारमा सम्पर्क गरेको थियो । उनी इटहरीमा एक छोरा र छोरीको साथमा डेरामा बस्थिन् । परपुरुषसँगको सम्बन्धले उनको हत्या भएको हुनसक्ने आशङ्का गरिएको छ।
त्यस्तै धरानमै अर्का एक पुरुषको पनि शव फेला परेको छ । कोशी राजमार्गको धरान-भेडेटार सडक खण्डमा अन्दाजी ५० वर्षीय एक पुरुष मृत फेला परेका हुन् ।

उक्त शवको सनाखत भएको छैन । इलाका प्रहरी कार्यालय धरानका अनुसार शव धरान ४ देवीथान नजिकमा पर्ने सडक किनारमा फेला परेको थियो । प्रहरीले शव उठाएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखेको छ ।

मृतक मागेर हिँड्ने व्यक्ति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शरीरमा चोटपटक केही पनि देखिएको छैन । शव मर्चरीमा राखेर सनाखतको लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP