सुनसरीको धरान उपमहानगरपालिका–१८ बुद्धचोकस्थित ‘न्यु कान्तिपुर होटेल एण्ड गेस्ट हाउस’को एक कोठामा महिलाको शव फेला परेको छ । मङ्गलवार बिहान सरसफाइ गर्ने क्रममा ढोकाको चुकुल नलगाएको देखेर कोठामा छिरेका कर्मचारीले बेडमा सुतेकै अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अन्दाजी ३०/३५ वर्षीय महिलाको शव फेला परेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । होटेल सञ्चालक सुशील जिमीका अनुसार दुई दिनदेखि ती महिलासँगै एक जना पुरुष होटेलको १०९ नं. को कोठा बुक गरेर बसेका थिए । सोमबार बेलुकासम्म महिला र एक पुरुषसँगै बसे पनि बिहान भने ती पुरुष थिएनन् ।
फरार रहेका ती पुरुष र मृतक महिला बिचको सम्बन्ध खुल्न सकेको छैन । महिलाको शरीरमा चोट पटक लागेको देखिएको छ । साथै ती पुरुष फरार रहेका कारण महिलाको हत्या भएको हुनसक्ने प्रहरीको बुझाई रहेको छ ।
ती महिला बसेको कोठामा सुमित्रा तामाङ लेखिएको परिचय पत्र फेला परेको प्रहरीले जनाएको छ । परिचय पत्रका आधारमा सनाखतका लागि प्रहरीले महिलाको आफन्तलाई बोलाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP