एक किलो भन्दा बढी सुनसहित इटहरीका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरीका कमल घिमिरे र लक्ष्मण गुरागाईँ रहेका प्रहरीले बताएको हो । अवैध रूपमा भन्सार छलेर लैजान लागेको १ हजार १६५ ग्राम तौल भएको सुनको १० थान सिक्री सहित प्रहरीले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
दुबईबाट नेपाल आएका घिमिरेलाई जाँच गर्दा उनको साथबाट उक्त सिक्री सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । लक्ष्मण गुरागाईँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नायव सुब्बा हुन् ।
प्रहरीका अनुसार “प्रारम्भिक अनुसन्धानको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नायव सुब्बा लक्ष्मण गुरागाईँले अध्यागमन एरियामा रहेको शौचालयमा गई कमल घिमिरेले ल्याएको सुनको सिक्रीहरू लिई भन्सार जाँच क्षेत्र पास गराई पुन सोही क्षेत्रको शौचालयमा गई फिर्ता दिएको खुल्न आएपछि गुरागाईँलाई पनि नियन्त्रणमा लिएको हो।”
थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP