ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर जानका लागि केबुलकार निर्माण हुने भएको छ । पर्यटन विकास तथा प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले पाथीभरा देवी दर्शन केबुलकार प्रालिले केबुलकार निर्माणको प्रक्रिया अगाडि बढाएको हो ।
सदरमुकाम फुङ्लिङमा प्रवर्द्धक कम्पनी पाथीभरा देवी दर्शन केबुलकार प्रालिले स्थानीय सरोकारवालासँग अन्तर्क्रिया गर्दै केबुलकार निर्माणबारे जानकारी गराएको छ । काफ्ले पाटीदेखि पाथीभरा धाम जोड्ने गरी केबुलकार निर्माण गरिने भएको छ ।
आगामी वैशाखदेखि केबुलकार निर्माणको काम सुरु गर्ने गरी तयारीलाई अघि बढाइएको प्रालिका कार्यकारी निर्देशक ईश्वरी पौडेलले जानकारी दिए । केबुलकार प्रालिको योजनाअनुसार निर्धारित समयभित्रै परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पाथीभरा क्षेत्रको काफ्ले पाटीदेखि धाम जोड्ने केबुलकारको दूरी २.६ किलोमिटर हुने प्रालिले जनाएको छ । रु.३ अर्ब रुपियाँ खर्च हुने र २२ महिनाभित्र केबुलकार आयोजना सम्पन्न गर्ने गरी विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनेको पनि केबुलकार प्रालिका स्थानीय सम्पर्क व्यक्ति मणि शङ्कर पोमूले बताए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP