ब्राजिलको पहाडी सहर पेत्रोपोलिसमा भीषण वर्षापछि आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ११० पुगेको छ । रियो दि जेनेरोको उत्तरतर्फ अवस्थित पेत्रोपोलिस सहरमा केही घण्टामै एक महिना बराबरको पानी परेपछि आएको बाढी र पहिरोमा परी हालसम्म ११० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
झन्डै १३४ जना मानिस अझै बेपत्ता रहेको हुँदा मृतको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूको भनाइ रहेको छ । मङ्गलवार पेत्रोपोलिसमा तीन घण्टाको अवधिमा २५.८ सेन्टिमिटर बराबरको पानी परेको थियो । भीषण वर्षा लगत्तै सडक जलमग्न भएको थियो भने पहिरोमा परी पहाडी खोँचमा रहेका घर ध्वस्त भएका थिए ।
हाल बेपत्ता मानिसको खोजी कार्य भइरहेको अधिकारीले बताएका छन् । झन्डै ४०० मानिस घरबार विहीन भएको र २४ जनालाई जीवितै उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP