त्रिभुवन विश्वविद्यालयका प्राध्यापकले नेविसंघले गरेको तालाबन्दीको विरोधमा प्रदर्शन गरेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकले त्रिवि उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । तालाबन्दी समाधान होइन, समस्या हो, विश्वविद्यालयलाई तालाबन्दी मुक्त क्षेत्र बनाऊँ, अब त अति भयो, विश्वविद्यालयमा तालाबन्दी कहिलेसम्म, विश्वविद्यालय सुधारका लागि एकजुट होऔँ लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए ।
उनीहरूले विश्वविद्यालयको रजिस्टार कार्यालयअघि १५ मिनेट शान्तिपूर्ण धर्ना दिएका छन् । प्रदर्शनकारी प्राध्यापकले समस्या सहज रूपमा समाधान गर्न सकिने अवस्था रहे पनि आन्तरिक उद्देश्यले बन्द गर्दा पठनपाठनमा समस्या भएको बताएका छन् । प्राध्यापकले विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो आफ्नो स्वार्थका लागि तालाबन्दी गर्दै जाने हो भने विश्वविद्यालयका समस्या कहिल्यै समाधान नहुने बताए । सत्तारूढ दल नेपाली काँग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघले विगत लामो समय यता शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने माग गर्दै तालाबन्दी गर्दै आएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP