प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएपछि उनीहरूको आलोचना भइरहेको छ ।
अर्थ मन्त्रालयका एक सह–सचिवले पठाउँदा हुने पत्र देशको कार्यकारी प्रमुख र अर्का पूर्व प्रधानमन्त्रीले संयुक्त रूपमा पठाउँदा देशको मान र प्रतिष्ठामा आँच आएको बुझाई धेरैको छ । ‘प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री आफैँले पत्र नपठाएको भएको हुन्थ्यो । यो काम अर्थ मन्त्रालय मार्फत गराएको भए राम्रो हुन्थ्यो,’ नेकपा माओवादी केन्द्र नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भने । ‘प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले एमसीसीको अध्यक्षलाई किन पत्र लेख्नुभयो बुझन् सकेको छैन,’ नेता श्रेष्ठले भने ।
पदमा बसेका व्यक्तिले भेटघाट र पत्र लेख्दा आफ्नो मर्यादाको ख्याल गर्नुपर्ने पूर्व राजदूत दिनेश भट्टराईको भनाइ छ । ‘वहालवाला प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीले बोलेको कुरा त अन्तिम हुन्छ,’ देउवा चौथो पटक प्रधानमन्त्री हुँदा उनको विदेश मामिला सल्लाहकार समेत रहेका भट्टराईले भने ।
पत्रमा देउवा र प्रचण्डले अमेरिकाले एमसीसी कार्यक्रम अन्तर्गत नेपाललाई उपलब्ध गर्ने ५० करोड अमेरिकी डलर आउँदो १६ फागुनसम्म सांसदबाट अनुमोदन गर्ने प्रतिबद्धता जनाएका छन् । देउवा र दाहालले उक्त पत्र एमसीसीको अध्यक्षलाई २९ सेप्टेम्बर २०२१ मा लेखेका थिए ।
नेपाली काँग्रेस एमसीसीलाई जस्ताको तस्तै सांसदबाट अनुमोदन गर्ने पक्षमा छ भने माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल सम्झौता केही संशोधन गर्नुपर्ने अडानमा छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP