सगरमाथामा २ हजार वर्षमा बनेको हिउँ ३० वर्षमै पग्लियो

माघ २३, २०७८


सर्वोच्च शिखर सगरमाथा क्षेत्रको हिमनदीमा हिउँ पग्लिने क्रम अत्यधिक बढेको एक वैज्ञानिक अध्ययनले देखाएको छ । अध्ययनअनुसार दुई हजार वर्षमा बनेको हिउँ जलवायु परिवर्तनका कारण ३० वर्षमै पग्लिएको हो । हिउँ पग्लिने क्रम सन् १९९० को दशकयता बढेको भर्खरै प्रकाशित नेचर जर्नलको ‘क्लाइमेट एन्ड एट्मोस्फेयरिक साइन्स’ मा उल्लेख छ । 

अध्ययनमा अमेरिकाको युनिभर्सिटी अफ मेनअन्तर्गतको क्लाइमेट चेन्ज इन्स्टिच्युटका वैज्ञानिक सहभागी थिए । उनीहरूको अध्ययनले सगरमाथाको साउथ कोल ग्लेसियर ९८०२० मिटर र आसपासको हिमनदीमा करिब दुई हजार वर्षको अवधिमा जम्मा भएको हिउँ २५ वर्षमै पग्लिएको उल्लेख छ । करिब ३० वर्षको अवधिमा साउथ कोल ग्लेसियरमा हिउँको तह ५४ मिटरले घटेको अध्ययनले देखाएको छ ।उक्त हिमनदीमा पहिलो हिउँ जम्न लागेको समयभन्दा पग्लिने गति ८० गुणा बढी छ । यसरी द्रुत गतिमा पग्लिनुमा तापक्रम वृद्धि र अन्य मानवीय गतिविधि कारण रहेको विज्ञहरूले उल्लेख गरेका छन् ।


जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यका अनुसार अनुसन्धानकर्ताहरूले हिउँ भएको क्षेत्रको मौसमको अनुगमन गर्ने दुईवटा जल तथा मौसम अनुगमन केन्द्र खडा गरेका थिए । ती स्टेसनले पनि अनुसन्धानलाई बलियो बनाउन मद्दत गरेको थियो ।


अध्ययनमा संलग्नमध्येका युनिभर्सिटी अफ मेनका डा। मारियुस पोटोस्कीले सगरमाथाको साउथ कोल हिमनदी मासिने क्रममा रहेको उल्लेख गरेका छन् । किङ्स कलेज लन्डनका वैज्ञानिक डा. टम म्याथ्युजले एक्कासि त्यति धेरै हिउँ पग्लिने धेरै कारण नदेखिए पनि तापमान वृद्धि हुन सक्ने बताएका छन् । विगतमा खुम्बु क्षेत्रका हिमनदीको अवस्थाबारे अध्ययन भए पनि उच्च क्षेत्रका हिमनदीमा तापक्रम वृद्धिका कारण परेको असरबारेमा विस्तृत अध्ययन भएको थिएन । यो अध्ययनमा १० जना वैज्ञानिक संलग्न थिए ।विगतमा बेलायतको युनिभर्सिटी अफ लिड्सका हिमनदी र हिमताल विज्ञ डंकन क्वेन्सीले गरेको अध्ययनले पनि खुम्बु क्षेत्रका हिमनदीको पिँधको बरफमा अस्वाभाविक रूपमा तापक्रम बढिरहेको देखाएको थियो । उक्त अध्ययनअनुसार हिमनदीको तापक्रम वायुमण्डलको भन्दा औसत २ डिग्री बढी पाइएकाले हिउँ पग्लिने क्रमसमेत बढेको हो ।


काठमाडौं विश्वविद्यालयका हिमनदी विज्ञ रिजनभक्त कायस्थ पनि खुम्बु क्षेत्रमा हिउँ छिटो–छिटो पग्लिरहेको उल्लेख गर्छन् । ‘हिमनदी छिटो पग्लिँदा नयाँ ताल बन्ने सम्भावना हुन्छ र यसले बाढीको जोखिम निम्त्याउँछ,’ उनी भन्छन्, ‘यसले तल्लो तटीय क्षेत्रमा असर पर्ने सम्भावना हुन्छ ।’


अर्का अनुसन्धानकर्ता डा। पोल मायेव्स्कीले उच्च भागमा द्रुत गतिमा हिउँ पग्लिँदा पिउने पानीको उपलब्धता र सिँचाइमा समस्या निम्तिन सक्ने बताएका छन् । हिमालय क्षेत्र विश्वका करिब एक अर्ब मानिसको पिउने पानीको स्रोत हो । हिउँको मात्रा घट्दा पर्वतारोहणमै पनि चुनौती थपिन सक्ने अनुसन्धानकर्ताहरूले रिपोर्टमा उल्लेख गरेका छन् ।


जलवायु परिवर्तनसम्बन्धी अन्तर सरकारी संस्था (आईपीसीसी) ले पनि गत साउन वैज्ञानिक प्रतिवेदन सार्वजनिक गर्दै तापक्रम वृद्धिका कारण हिमालय क्षेत्र, हिमताल, हिमनदी पग्लिने क्रम विगतका वर्षहरूमा भन्दा बढेको उल्लेख गरेको थियो ।
आईपीसीसीको प्रतिवेदनमा हिमाली क्षेत्र पग्लिँदा समुद्री सतहसमेत पूर्वआकलन गरेभन्दा द्रुत गतिमा बढिरहेको जनाइएको छ । यही हिसाबले तापक्रम बढ्ने र हिउँ पग्लने हो भने हिमाल नांगा हुने र समुद्री सतह तीन मिटरसम्म बढ्ने चेतावनी पनि प्रतिवेदनमा दिइएको छ ।


यस्तै, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले ‘दी हिन्दुकुश हिमालय एसेसमेन्ट–माउन्टेन, क्लाइमेट चेन्ज, सस्टेनएबिलिटी एन्ड पिपल’ प्रतिवेदन सार्वजनिक गर्दै शताब्दीको अन्त्यसम्म विश्वको तापक्रम वृद्धि १।५ डिग्री हुँदा ३६ प्रतिशत हिउँ पग्लने र अहिलेकै अवस्थामा कार्बन उत्सर्जन हुने हो भने ६४ प्रतिशत हिउँ पग्लने चेतावनी दिइसकेको छ । यसको मुख्य असर पनि हिमाली क्षेत्रको वनस्पतिमै पर्ने इसिमोडले जनाएको छ । –श्रोत ईकान्तिपुर

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP